Galaxysamachar
९ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भोलि बुधबार नेपालले भारतसँग खेल्दै छ । नेपाल र भारतको खेल बेलुकी साढे ५ बजे सुरु हुने छ भने त्यसअघि साढे १ बजे भुटान र पाकिस्तानले खेल्ने छन् ।
सेमिफाइनलमा पुगेको घरेलु टोली नेपाल सुरुका २ संस्कर सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारत पछिल्ला दुई सन् २०१९ र २०२२ को । सन् २०१५ मा सुरु भएको प्रतियोगितामा लगातार दुईपटक उपाधि जिते पनि पछिल्ला २ संस्करणमा नेपालको प्रदर्शन खराब रह्यो ।
घरेलु मैदानमा जारी पाँचौ संस्करणमा भने नेपाल समूह चरणमा पाकिस्तानसँग हारे पनि माल्दिभ्सलाई हराउँदै सेफिाइनलमा पुगेको छ ।
नेपालसँग खेल्न लागेको भारत भने समूह चरणमा भुटान र बंगलादेश दुवै टिमलाई हराउँदै सेफिाइनलमा पुगेको हो ।
सन् २०१५ मा दशरथ रंगशालामा भारतलाई हराउँदै नेपालले उपाधि जित्दा सहायक रहेका सुनिल श्रेष्ठ अहिले नेपाली टिमको प्रमुख प्रशिक्षक छन् ।
८ वर्षअघिको फाइनल सम्झिरहेका सुनिल घरेलु मैदानमा भोलिको खेल जितेर फाइनल खेल्न चाहन्छन् । ‘हामी भोलि जित्नकै लागि खेल्ने हो,’ भारतसँगको खलको पूर्वसन्ध्यामा उनले भने, ‘जसरी पनि नतिजा आफ्नो पक्षमा पार्ने तयारीमा रहनेछौं ।’
नेपालका लागि घरेलु मैदान र दर्शकको समर्थन नै महत्वपूर्ण हुने प्रशिक्षक श्रेष्ठले बताए । ‘हाम्रो लागि सबैभन्दा ठूलो फाइदा भनेको घरेलु मैदान र हाम्रो दर्शकको साथ हो ।’
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend