Galaxysamachar
८ असोज, जनकपुरधाम । सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज सोमबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने र राति ८ बजेदेखि ४ बजेसम्म मात्र कर्फ्यू कायम राख्ने निर्णय गरेको छ ।
दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय बैठकले गरेको छ ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्यनजर गर्दै साबिक मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको छ ।
असोज ४ गते बेलुकी दुई पक्षबीच झडप भएपछि अप्रिय घटना हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले साबिकको मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।
सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका हल्ला एवम् अफवाह फैलाउने व्यक्तिहरुको पहिचान गरी साइवर अपराध गरेको अभियोगमा कानून बमोजिम कारबाही गर्ने समेत सुरक्षा समितिले निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
हल्लाको पछि नलाग्न सचेत गराउने र सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुडा प्रहार, उच्छृङ्खल गतिविधि लगायतका विरोध प्रदर्शन गर्ने, सामाजिक सद्भाव बिगार्ने खालका घटना घटाउने एवम् घटनमा संलग्न जो कोहीलाई कडा भन्दा कडा कार्यबाही हुने उनले चेतावनी दिएका छन् ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend