logo
  • बिहिबार, असोज १ २०८३

आक्रोशित भीडमा जब प्रहरी नै भन्छन्- डाक्टरलाई साफ चुटेर आएँ सशंकित छन् चिकित्सक, अशान्त छ मणिपाल


  • Galaxysamachar
  • मंगलबार, असोज ९ २०८०

९ असोज, पोखरा । कहिले डाक्टर त कहिले विरामीका आफन्तको आन्दोलनले थला परेपछि आनन्दराज बतासको समूहलाई बेचेर भारतीय लगानीकर्ताले हात झिकेको अस्पताल हो– मणिपाल शिक्षण अस्पताल ।

भारतीय समूह मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा पोखरा–११ फूलबारीमा मणिपाल खोलेको थियो । तर सर्वसुलभ र गुणस्तरीय सेवामा ख्याति कमाएको मणिपाल प्रत्येक साल हुने आन्दोलनले आजित बनेपछि भारतीय समूह बाहिरिएको थियो ।

त्यही मणिपाल अस्पताल २ दिनदेखि फेरि तनावग्रस्त छ । मणिपाल मात्र होइन, सिंगो पोखराकै स्वास्थ्यकर्मीहरु अशान्त छन् ।

सोमबार बिहान लमजुङ नगरपालिकाकी ५७ वर्षीय सुकमाया दुरालाई उपचारका लागि मणिपाल ल्याइएको थियो ।

श्वासप्रश्वास र डाढ दुख्ने भएर अप्ठ्यारो भएपछि आफन्तले दुरालाई मणिपालमा ल्याएका थिए । उनको उपचारकै क्रममा सोमबार दिउँसो १ बजेतिर निधन भयो ।

दिनभरि विरामीलाई डुलाइएको, के भएको हो भन्ने नखुलाइएको र अघिल्लो दिनसम्म ठिकठाक भएको विरामीको एक्कासी ज्यान गएको भन्दै आफन्त र आक्रोशित भीड अस्पतालमा जम्मा भयो ।

होहल्ला सुरु भएपछि एक जना डाक्टर अरु विरामीलाई पनि असर पर्ने भन्दै हल्ला नगरिदिन आग्रह गर्दै थिए । प्रत्यक्षदर्शी डाक्टरका अनुसार उनीमाथि कन्चटमा पछाडिबाट प्रहार भइहाल्यो र चस्मा नै भुइँमा खस्यो । त्यसपछि मणिपालमा झन् तनावपूर्ण अवस्था बढ्दै गएको छ ।

डाक्टरमाथि हातपातै भएपछि आफन्तको आक्रोसित भीड झनै उग्र बन्यो भने अनाहकमा डाक्टर अनिल शाहले कुटाइ खाएको भन्दै चिकित्सकको समूह पनि आक्रोसित बन्न पुगे ।अस्पतालमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरियो ।

दुराका परिवार, आफन्त र तिनका शुभचिन्तकको संख्या बढ्दै भयो । ठूलो संख्यामा पोखराका युवाहरु आक्रोसित भीडमा थपिंदै गए । त्यतिमा मात्र यो भीड सिमित रहेन, नेविसंघ, तरुण दलका एक-दुई जना नेताहरु नेतृत्वमा थिए । यसमा थप जोडिँदै गएपछि भीड झनै उग्र बन्यो ।

लमजुङमा वडाध्यक्षले नै जिल्ला अस्पतालका डाक्टरलाई मुक्का प्रहार गरेपछि पोखराका स्वास्थ्यकर्मी यसै पनि अशान्त थिए । त्यसैमाथि पोखरा मणिपालमा पनि डाक्टरमाथि प्रहार भएपछि सबैमा निराशा र आक्रोश बढेको भन्दै चिकित्सकहरु ऐक्यबद्धता जनाउन समेत मणिपाल पुगिरहेका थिए ।

राति अबेरसम्मै मृतकका आफन्त र उनको समर्थनमा पुगेका युवाहरुको ठूलो भीड थियो भने चिकित्सकहरुले भने डाक्टरमाथि हातपात गर्नेमाथि मुद्दा चलाउनुपर्ने माग राख्दै दबाब दिइरहेका थिए ।

प्रहरीले डाक्टरमाथि हातपात गरेको आरोपमा पोखरा–५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई पक्राउ गरेको थियो । स्वास्थ्यकर्मीहरुले उनलाई मुद्दा चलाउनुपर्ने माग राख्दै नारा लगाउँदै थिए ।

एकातिर आफन्त र शुभचिन्तकको भीड आक्रोसित नै थियो भने अर्कोतिर चिकित्सकले पनि नारा लगाउन थालेपछि प्रहरीले चिकित्सकहरु लाठी चार्ज गर्‍यो । दिउँसोदेखि नै जिल्ला प्रशासनको समन्वयमा अस्पताल व्यवस्थापन, पीडित परिवार र चिकित्सकबीच वार्ता बसिरहेको भए पनि टुंगो लाग्न सकेको थिएन ।

राति अबेरसम्मै वार्ता पनि निष्कर्षमा नपुग्ने र आक्रोश पनि कम नभएपछि प्रहरीले चिकित्सकमाथि नै लाठी चार्ज गरेको थियो । ऐक्यबद्धता जनाउन पुगेका एक डाक्टरलाई आईसीयूमै पुगेर प्रहरीले कुटपिट गरेको चिकित्सकहरुको आरोप छ । प्रहरीले कुटाइबाट पोखराको फेवा सिटी अस्पतालमा कार्यरत डाक्टर दिनेशकुमार विकको ओठ फुटेको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठायो ।

चिकित्सकलाई लाठी चार्ज र ओठ नै फुट्ने गरी हानेपछि जिल्ला प्रहरी कार्यालय कास्कीका इन्स्पेन्टर मदन श्रेष्ठ पीडित परिवारका आफन्त तथा शुभचिन्तकको आक्रोसित भीडमा पुग्छन् । उनले त्यहाँ हेलमेट खोलेर अपशब्द बोल्दै डाक्टरलाई साफ चुटेर आएको बताउँछन् । त्यति मात्र होइन, अपशब्द नै प्रयोग गर्दै कुटाइबाट डाक्टर रगताम्मे भएको बताउँछन् र भीडले ताली ठोक्छ  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend