logo
  • शुक्रबार, असोज २ २०८३

१९ करोडको सडक योजनामा ढिलाइ, धनकुटावासीले खेप्दै हिलो र सास्ती


  • Galaxysamachar
  • मंगलबार, साउन ५ २०८३

धनकुटाको पाख्रीबास नगरपालिकास्थित पाख्रीबास–फलाटे जोड्ने करिब साढे छ किलोमिटरको सडकखण्ड स्तरोन्नतिको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् । तोकिएको समयावधिभित्र सडकको स्तरोन्नतिको काम नसकिँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।

सडक स्तरोन्नतिसहित कालोपात्रेका लागि सङ्घीय सरकारको विनियोजित बजेटबाट १९ करोड रुपियाँमा ठेक्का लागेर काम अगाडि बढेको थियो । उक्त काम वल्र्ड वाइड कन्सल्ट्स कन्सल्टेन्सी कम्पनी प्रालि काठमाडौँले ठेक्का लिई काम सुरु गरेको थियो । आर्थिक वर्ष २०७९/८० विनियोजित बजेटबाट २०७९ माघमा ठेक्का लागेको थियो । ठेक्का लागेको तीन वर्षभित्र काम सम्पन्न भइसक्नुपर्ने थियो । तोकिएको समयमा ठेकेदारले काम नसक्दा समस्या परेको छ ।

स्थानीय ध्रुव पौडेलले दैनिक आवतजावत गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार बर्खा लागेसँगै पानी पर्नासाथ साना यातायातका साधन सञ्चालनमा समस्या भएको छ । लामो बाटो हिँडेर गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । त्यति मात्रै नभई हिलाम्मे सडक पार गर्दै विद्यार्थी विद्यालय आउनुपर्ने हुँदा झन् समस्या रहेको उहाँले बताउनुभयो । पहाडी भूगोलमा सामान्य पानी पर्नासाथ बाटो हिलो र चिप्लो हुने हुँदा स्थानीयले दैनिक सास्ती खेप्दै आएका छन् ।

बजेट अभावका कारण सडक निर्माणको काम करिब एक वर्ष रोकिएको सडक डिभिजन कार्यालय धनकुटाका इन्जिनियर रमेशकुमार गोइतले बताउनुभयो । उहाँका अनुसार २०८२ साल वैशाखमा काम सम्पन्न भई सक्नुपर्नेमा पैसा नआएकाले एक वर्ष जति काम नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कटिङ, नाली, ड्रेन, ग्याबिनलगायतका काम सकिएको छ । ठेकेदारले तोकिएको समयमा काम नसक्दा ढिलाइ भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ठेकेदारले काम नगर्दा थप समस्या भयो । पुनः म्याद थप गरी चैतसम्म सक्न लागिपरेका छौँ  । लगानी पनि धेरै भएकाले म्याद थप नगर्दा हामीलाई पनि अप्ठ्यारो हुने र स्थानीयले पनि दुःख पाउँछन् तसर्थ चैतसम्ममा काम सक्छौँ ।”

सडक डिभिजन कार्यालय धनकुटाले भने एक वर्षअगाडि ४० प्रतिशत काम भइरहेको बताएको थियो । कार्यालयका अनुसार तीव्र गतिमा सडक स्तरोन्नतिको काम भइरहेको र तोकिएको समयावधिभित्र काम सक्ने जनाएको थियो । कामको गति भने गत वर्ष झैँ सुस्त रहेको पाइएको छ । गत चैत/वैशाखसम्ममा कालोपत्रेको काम सक्ने बताइए पनि सडक निर्माणको काम सुस्त बनेको हो । सडक कच्चा भएकाले स्तरोन्नति सुस्त हुँदा लामो समयदेखि स्थानीयले सास्ती भोग्दै आएका छन् ।

स्थानीय बाबुराम भण्डारीले उत्पादन, खाद्यान्न, सागसब्जी बजारसम्म लैजान समस्या भोगेको बताउनुभयो । स्थानीयले उत्पादन गरेका तरकारी बेचबिखन गर्न करिब दुई घण्टाको बाटो हिँडेर बजारसम्म पुग्नु पर्छ ।

उक्त सडक पाख्रीबासबजार हुँदै राम्चेडाँडा, निन्दोभाने, डाँडाखर्क हुँदै फलाटे बजारसम्म पुगिन्छ । सडक स्तरोन्नतिको काम सुरुवाती चरणमा तीव्र गतिमा भए पनि अहिले भने शून्य गति झैँ भएको छ । छिमेकी जिल्ला भोजपुर पनि फलाटे–अँधेरीघाट यही सडक हुँदै पुगिन्छ । सडकको काम नहुँदा छिमेकी जिल्ला भोजपुरका स्थानीयसमेत प्रभावित भएका छन् ।

निर्माण सम्पन्नपश्चात् पाख्रीबास नगरपालिका–४, ६, ७ र ८ नम्बर वडाका स्थानीय, छिमेकी जिल्ला भोजपुरका अधिकांश जनता लाभान्वित हुने छन् । स्थानीय बेलबहादुर भण्डारी सडक निर्माण सम्पन्न नहुँदा विद्यार्थी विद्यालय र गाउँमा समान्य बिरामी भएर उपचार गर्न जानसमेत समस्या हुने गरेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend