logo
  • शुक्रबार, असोज २ २०८३

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशनको तयारी पूरा


  • Galaxysamachar
  • शुक्रबार, असोज २ २०८३

भरतपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ। जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनले जनाएको छ।

केन्द्रीय कार्यतालिकाअनुसार नै चितवनमा महाधिवेशनअन्तर्गतका कार्यक्रम अघि बढाइएको हो। अधिवेशनको तयारीबारे कांग्रेस चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार जिल्लाका ९८ वडामध्ये सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते वडा अधिवेशन सम्पन्न गरिनेछ। वडा अधिवेशनमा युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिएको उनले बताए।

उनका अनुसार भूगोल, जातीय समुदाय तथा फरक क्षमता भएका व्यक्तिको समेत समावेशी र समानुपातिक सहभागितालाई प्राथमिकता दिइएको छ।

वडा अधिवेशनबाट जिल्लामा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचित क्षेत्रीय प्रतिनिधिले सम्बन्धित पालिका कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, बागमती प्रदेश प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला कार्यसमिति चयन प्रक्रियामा सहभागिता जनाउनेछन्।

कांग्रेस चितवनका अनुसार असोज ७ गते पालिका अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। यससँगै जिल्लामा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको तल्लो तहदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend