logo
  • शनिबार, असोज ३ २०८३

मोरङ प्रहरीमा हलचल : प्रहरी निरीक्षकसहित चारजनामाथि अनुसन्धान सुरू


  • Galaxysamachar
  • मंगलबार, कार्तिक ६ २०८१

बिराटनगर, कात्तिक ६ गते । मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय ( हेडक्वाटर) तानिएसँगै जिल्लामा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानविन र अनुसन्धान अगाडि बढाएको छ ।

दसैँ तथा आसपासको समयमा मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण र समन्वय रहेको विषयमा गोरखापत्र अनलाइन र गोरखापत्र दैनिकमा समाचार प्रकाशित भएपछि मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीलाई हेडक्वाटर झिकाइएसँगै मोरङमा कार्यरत थप चारजना प्रहरी अनुसन्धानको घेरामा तानिएका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टरसहित चारजनालाई प्रदेश प्रहरी  कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताउनुभयो । मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ र हवल्दार खगेन्द्र राउत तथा सहायक हवल्दार सरोज श्रेष्ठलाई कारबाहीको दायरामा ल्याइएको बताइएको छ ।

घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपियाँ लिएको आरोप लागेको छ । उहाँहरूमाथि अनलाइन जुवाको सेटिङ गर्ने अनि गराइदिने र त्यस वापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि समन्वय र संरक्षण गर्ने गरेको आरोप लगेको छ ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार प्रदेश प्रहरी कार्यालयले उहाँकै संयोजकत्वमा गठन गरेको छानविन समितिले इन्स्पेक्टर भट्टराईसहितका चारजना प्रहरीमाथि अनुसन्धान र छानविन सुरू गरेको हो ।

‘‘ति चारजना प्रहरीलाई प्रदेश कार्यालय ल्याएर मेरो संयोजकत्वमा गठित छानविन समितिले आवश्यक अनुसन्धान, सोधपुछ र बयान लिने काम गरिरहेको छ, अहिले अनुसन्धानको क्रम चलिरहेकोले यो भन्दा थप केही बताउन मिलेन,’’ प्रवक्ता दाहालले भन्नुभयो ।

यसैबिच, मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की हेडक्वाटर तानिए पछि मोरङ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सम्हाल्नुभएको छ । हेडक्वाटरको निर्णय अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका गणपति प्रहरी उपरीक्षक चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार हाजिर भइ मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend