Galaxysamachar
अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ ले सुखद् सुरूआत गरेको छ।
शुक्रबार बिहानी शोबाट नै फिल्मले देशैभर उत्साहजनक व्यापारको सुरूआत गरेको वितरक मनोज राठीले बताए। उनका अनुसार शनिबार फिल्मको देशव्यापी अकुपेन्सी शतप्रतिशत रह्यो।
पर्याप्त शो नहुँदा धेरै दर्शकहरू टिकट नपाएर फर्किन समेत बाध्य भएको वितरक राठीको दाबी छ।
‘फिल्मले राम्रो सुरूआत गरेको छ। कलेक्सनबारे आइतबार जानकारी दिनेछौं,’ राठीले सेतोपाटीसँग भने।
निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले फिल्मले पहिलो दिन राम्रो व्यापार गर्दा पनि शनिबार शो नथपिएको गुनासो गरेकी छन्।
शनिबार पनि क्युएफएक्स, बिग मुभिज, वान सिनेमाज, एफक्युब सिनेमाज लगायतमा दर्शक प्रतिक्रिया बुझ्न फिल्मको निर्माण टिम पुगेको थियो। फिल्मको टिम हल पुग्दा दर्शकले ताली र सिट्टीले स्वागत गर्दै ह्रस्व दीर्घको दोस्रो भागको माग समेत गरिरहेको देखिन्थे।
लेखक तथा अभिनेता हरिहर अधिकारीले काठमाडौंसहित नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, धनगढी लगायतका सहरमा समेत राम्रो व्यापार गरेको बताए।
बलिउड अभिनेता प्रदीप रावत यो फिल्म हेर्न र दर्शकसँग साक्षात्कार गर्न आइतबार नेपाल आउने तयारी छ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’ चन्द्र पन्तले निर्देशन गरेका हुन्।
कार्यकारी निर्माता धनन्जय गलानी हुन्।
फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, विपना थापा, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईँटेल, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारको अभिनय छ।
यो फिल्म ६ करोड लगानीमा बनेको बताइएको छ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend