Galaxysamachar
काठमाडौँ । भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहमा भदौ ४ मा सुरु भएको झडपको शृङ्खला बाँकेको डुडुवासम्म पुगेको छ । असोज ४ मा बाँकेको डुडुवा गाउँपालिका–३, आसमानपुरस्थित जयेन्द्र बाल सुधार गृहमा झडप हुँदा सुधार गृहमा राखिएका २१ वर्षीय सुलभ केसीको मृत्यु भयो भने अन्य ११ जना घाइते भए ।
लागुऔषध प्रयोगकर्ता र अन्य नाबालक कैदीको बिचमा विवाद हुँदा झडपको अवस्था आएको बताइएको छ । तर, घटनाको यकिन कारण अझै खुलेको छैन । जयेन्द्र बाल सुधार गृहमा भएको झडपको कारण खोजिरहेको बताउँछन् बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य । ‘विभिन्न कारणले यस्ता झडप हुन्छन्, हामी कारण खोज्दै छौँ,’ उनले भने ।

जयेन्द्र बाल सुधार गृहको व्यवस्थापन युसेफ नेपालले गर्दै आएको छ । राति भएको झडपमा गम्भीर घाइते भएपछि सुलभ केसीलाई नेपालगञ्ज मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ उनको मृत्यु भयो ।
बाँकेको सुधार गृहमा २०७९ मा पनि दुई वटा घटना भएका थिए । २०७९ पुसमा नाबालक बन्दीहरू झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए । माघ अन्तिम साता सुधार गृहमा आगजनी गरिएको थियो ।
भक्तपुरको सानो थिमीस्थित बाल सुधार गृहबाट भदौ ४ मा २ सय २१ नाबालक कैदी फरार भए । थुनामा रहेका साथीको मृत्युपछि सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरू भागेको प्रशासनको प्रारम्भिक छानबिन निष्कर्ष छ ।
नाबालक बन्दीहरूले सुधार गृहका संरचना तोडफोड गरे । ‘नाबालक बन्दी’ कमल बस्नेतको मृत्यु भएपछि सानो थिमीमा नाबालक बन्दीहरू आक्रोशित भएर सुधार गृहबाट निस्किएका हुन् । भक्तपुरको प्रमुख जिल्ला अधिकारीबाट भर्खरै सरुवा भएका सह–सचिव खगेन्द्रप्रसाद रिजाल पूर्व आकलन नहुँदा बालसुधार गृहमा ‘अकल्पनीय’ घटना भएको बताउँछन् । उनी भन्छन्, ‘त्यसबेला नाबालक बन्दी भाग्छन् भन्ने कल्पना नै भएन ।’
नाबालक बन्दी कमल बस्नेतमाथि सुधार गृहभित्र कुटपिटबाट मृत्यु भएको पीडित परिवारको आरोप छ । त्यसबारे भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले छानबिन गरेर प्रतिवेदन बुझाएको छ ।
सुधार गृहभित्र कमल बस्नेतमाथि कुटपिट नभएको छानबिन समितिको निष्कर्ष छ । बस्नेतको मृत्युको कारण यकिन गर्न भिसेरा परीक्षण गर्न ल्याबमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
अहिले मुलुकभर ८ वटा बाल सुधार गृह छन् । तीमध्ये ४ वटा युसेफ नेपाल नामको गैरसरकारी संस्थाले व्यवस्थापन गर्दै आएको छ । बाल सुधार गृह सञ्चालनमा राज्यले उचित ध्यान नदिएको बताउँछन् बालकल्याण समितिका पूर्व अध्यक्ष तारक धिताल
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend