Galaxysamachar
७ असोज, विराटनगर । विराटनगरको माछापुच्छ्रे्र बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको झण्डै ९ करोड २६ लाख रुपैयाँ हिनामिना गरेको खुलेको छ ।
सहकारी संकटमा परेको थाहा पाएर वचत फिर्ता लिन गएका सर्वसाधारण कार्यालय बन्द गरेर सञ्चालक सम्पर्कविहीन भएपछि निराश भएका छन् ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ सञ्चालकले हिनामिना गरेको खुलेको थियो ।
सहकारीको अध्यक्ष अमलेशकुमार कर्ण हुन् । तत्कालिन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष उनी दुई पटक विराटनगरको मेयरमा उठेका थिए । सहकारीका अर्का सञ्चालक प्रभाकर थापा नेपाली कांग्रेसको युवा संगठन तरुण दल मोरङको पूर्वअध्यक्ष हुन् ।
सञ्चालक सम्पर्क बिहिन भएपछि प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले जिल्ला सहकारी संघ मोरङका सदस्य उमेश गुरुङको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समितिले अध्यक्ष कर्णसहित चार जना सञ्चालकले ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको निष्कर्षसहितको प्रतिवेदन कार्यालयलाई बुझाएको थियो ।
हिनामिना भएको रकमको आधा सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले तिर्नुपर्ने देखिएको छ । कार्कीले ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ खर्च हिनामिना गरेको छानबिनका क्रममा देखिएको कार्यालयले जनाएको छ ।
समितिले कार्कीबाट रकम असुल गर्न सुझाव दिएको थियो । कार्कीले सहकारीको रकम आफ्नो बैंक खातामा राखेर कारोबार गर्ने गरेको छानबिनका क्रममा देखिएको थियो ।
कार्कीले दुई वटा बैंकबाट ५ करोड २५ लाख रुपैयाँ शंकास्पद कारोबार गरेको देखिएको छानबिन समितिले जनाएको छ ।
सहकारीका पूर्वसचिव तथा सञ्चालक प्रभाकर थापाको नाममा १ करोड ६० लाख ३३ हजार ४ सय २ रुपैयाँ छ । उनले सो रकम हिनामिना गरेको समितिको दाबी छ । सहकारीका अध्यक्ष अमलेश कर्णको नाममा १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ गोलमाल गरेको प्रतिवेदनमा छ ।
सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बुले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा छ ।
छानबिन समितिले सहकारीले लगानी गरेको ऋण असुल भएको अवस्थामा असुल भए बराबरको रकमको दायित्वबाट मुक्त गर्न सकिने र अपुग र नोक्सानी भएको रकम सञ्चालकले व्यहोर्नुपर्ने बताएको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend