logo
  • शुक्रबार, असोज २ २०८३

अमेरिकासँग वार्ताको विवादबीच होर्मुज स्ट्रेटमा इरान र ओमनको समझदारी


  • Galaxysamachar
  • बिहिबार, साउन २१ २०८३

२१ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यसले सम्भावित अमेरिकी सैन्य आक्रमण टार्न सक्ने दाबी गरेका छन्। लस भेगासमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले आफू मानिसहरू मार्न नचाहेको र इरानसँग सम्झौता गर्न चाहेको बताएका छन्।

यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँग कुरा गर्दै इरानसँगको वार्ता ‘झन्झटिलो’ भए पनि अन्ततः यो अमेरिकाको हितमा हुने दाबी गरेका छन्। उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने कुरामा जोड दिँदै कूटनीतिक, आर्थिक र सैन्य सबै विकल्प प्रयोग गरिने बताएका छन्।

यद्यपि, इरानले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै अमेरिकासँग कुनै पनि प्रकारको संवाद नभएको स्पष्ट पारेको छ। इरानले होर्मुज स्ट्रेटमा नयाँ पानीजहाज मार्गको भौगोलिक अवस्थितिबारे ओमानसँग मात्रै एउटा समझदारी बनेको र यो अन्तिम मस्यौदाको चरणमा रहेको जनाएको छ।

इरानी अधिकारीहरूले यस छलफलमा ओमानबाहेक कुनै पनि बाह्य हस्तक्षेप नभएको बताएका छन्।

अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य गतिविधिको कारण नै स्ट्रेटमा अवरोध सिर्जना भएको इरानको आरोप छ। ओमानसँगको सम्झौताले मात्रै हालको संकट पूर्ण रूपमा समाधान नहुने पनि इरानले प्रस्ट पारेको छ।

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले आफ्नो कार्यकालको दोस्रो वार्षिकोत्सवमा बोल्दै दुश्मनहरूले देशको क्षमता र प्राविधिक प्रगतिलाई कमजोर बनाउन इरानी सैन्य कमान्डर र वैज्ञानिकहरूलाई लक्षित गरेको बताएका छन्।

अर्कोतर्फ, वासिङ्टनले होर्मुजमा इरानको नियन्त्रण हुने कुरालाई अस्वीकार गर्दै कुनै पनि अस्थायी मार्गका लागि अनुमति वा शुल्क आवश्यक नपर्ने जनाएको छ।

ओमान र इरानबीचको छलफलले अमेरिका-इरान शान्ति सम्झौता हुन सक्ने र होर्मुज स्ट्रेटको अवरोध खुल्ने आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट क्रुडको मूल्य शून्य दशमलव ५ प्रतिशतले घटेर प्रतिब्यारेल ७९.०८ डलर कायम भएको छ भने अमेरिकी डब्लूटीआई क्रुडको मूल्य शून्य दशमलव ७ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.६९ डलरमा झरेको छ।

(एजेन्सीहरूको सहयोगमा)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend