Galaxysamachar
खुर्कोट (सिन्धुली), कात्तिक ६ गते । सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका –६ सेलेघाट जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको बेलिब्रिज आजबाट सञ्चालनमा आएको छ ।
खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग (रामेछाप जिल्लातर्फको) असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलिब्रिज निर्माण (जडान) सुरु गरेको थियो ।
उक्त पुलको सोमबार भारवहन क्षमता जाँच गरी आजबाट सञ्चालन गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ्ले मङ्गलबार उक्त बेलिब्रिजको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय खाल्टे सिन्धुलीका अनुसार प्राविधिक स्टिमेटअनुसार उक्त पुलको भारबहन क्षमता २२ टन भए पनि हाल १५ टन क्षमताको सवारी साधन मात्र आवतजावत गर्न पाउनेछन् । कार्यालय प्रमुख पारसमणि हमालले सोमबार मात्र उक्त पुलको भारबहन क्षमता जाँच गरेपछि आजबाट सार्वजनिक यातायात सञ्चालन गर्न छोडेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुलको डिजाइन क्षमता २२ टन हो, स्पान बगेको हुनाले हाललाई १५ टन क्षमता कायम गरिएको छ । १५ टन क्षमताका गाडी मात्र हाललाई वारपार गर्न सक्ने भए ।’
एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोशी नदीमा दुई वटा स्पानको सो पुल आर्थिक वर्ष २०७१–७२ मा निर्माण गरेको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल वरदान सावित भएको स्थानीयले बताएका छन् । पुल निर्माणसँगै रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बीपी राजमार्गसँगको सम्पर्क जोडिएको छ ।
गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर बरालले खुर्कोटमा बेलिब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध जोडिएको बताउनुभयो । तराई र हिमाललाई छोटो दूरीमा जोड्ने बीपी राजमार्ग जोडिएको खुर्कोट पुल तराईका जिल्लाबाट रामेछाप र दोलखा जिल्लालाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने एक मात्र नाका भएको गाउँपालिका अध्यक्ष बरालको भनाइ छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend