Galaxysamachar
त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान डीन कार्यालयले इजरायलमा रहेका विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।
इजरायलको ‘किन्नरेट एकेडेमिक कलेज’ मार्फत विभिन्न कृषि फार्ममा काम गरिरहेका विद्यार्थी मध्ये ‘जेरिट फार्म’ च्याउ फार्ममा रहेका ७२ विद्यार्थीले असुरक्षित भएको जानकारी दिएपछि त्रिविले नेपालस्थित इजरायली दूतावास, इजरायलमा रहेको नेपाली दूतावास र किन्नरेट एकेडेमिक कलेजसँग विद्यार्थीको उद्धार गर्न पहल गरेको जनाएको छ ।
सोमबार राति नै ‘जेरिट फार्म’मा कार्यरत ती विद्यार्थीलाई सेनाले तत्काल उद्धार गरेर विभिन्न पाँच वटा बंकरमा राखेको थियो । मंगलबार ती विद्यार्थीलाई किन्नरेट कलेज नजिक अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको जानकारी पाएको कृषि र पशु विज्ञान अध्ययन संस्थानका डीन प्रा.भार्गव धितालले जानकारी दिए । उनले भने ‘ती ७२ जना विद्यार्थीलाई अहिले अझ सुरक्षित क्षेत्रमा ल्याइरहेको भन्ने जानकारी पाएको छु । दूतावास र कलेजसँग नियमित सम्पर्कमा छु ।’
त्रिविका १०० विद्यार्थी ‘लर्न, अर्न एन्ड रिटर्न’ कार्यक्रम अन्तर्गत द किन्नरेट एकेडेमिक कलेज, जोर्डन गएका थिए । यी विद्यार्थीहरुमध्ये ७२ जना ‘जेरिट फार्म’मा र बाँकी २८ जना अरु दुई कृषि फार्ममा कार्यरत रहेको त्रिविले जनाएको छ । ती २८ जना विद्यार्थीले आफूहरु सुरक्षित रहेको जानकारी दिएको त्रिविले जनाएको छ । तर उनीहरुलाई पनि सचेत रहन र समस्या भए तुरुन्तै जानकारी दिन अनुरोध गरेको त्रिविले जनाएको छ ।
डीन प्रा.धिताल भन्छन्, ‘बाँकी २८ जना अहिलेसम्म सुरक्षित रहेको जानकारी दिएका छन् तर सचेत रहन भनेको छु । किनभने एकैछिनमा अवस्था फरक हुने रहेछ आज सुरक्षित स्थानमा सारिरहेको ती ७२ जनाले पनि हिजो अपराह्न ५ बजेसम्म ठिकै छौं भनेका थिए राति समस्यामा छौं भनेपछि उद्धारका लागि पहल गरेका हौं ।’
ती विद्यार्थीहरु २०, २५ भदौ र १ असोजमा ‘लर्न, अर्न एन्ड रिटर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका थिए । संस्थानले विज्ञप्ति जारी गर्दै विद्यार्थी सुरक्षित स्थानमा सारिरहेको जनाएको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend