Galaxysamachar
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदको लागि आज (बुधबार) भारतको नयाँदिल्लीमा भएको निर्वाचनमा नेपाल पराजित भएको छ । नेपाली उमेदवार डा. शम्भुप्रसाद आचार्य बंगलादेशकी उमेदवार साइमा वाजेदसँग पराजित भएका हुन् ।
आजको निर्वाचन परिणामसँगै बंगलादेशकी साइमा वाजेद दक्षिण–पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको अर्को क्षेत्रीय निर्देशकको रूपमा मनोनीत भएकी छन् । दक्षिण–पूर्वी एसिया क्षेत्रको लागि डब्लूएचओ क्षेत्रीय समितिको ७६औँ सत्रको बन्द बैठकमा सदस्य राष्ट्रहरूले वाजेदको पक्षमा मतदान गरेका हुन् ।
बुधबार नयाँदिल्लीमा भएको मतदानमा बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर–लेस्टेले भाग लिएका थिए । म्यानमार मतदानमा सहभागी भएन ।
साइमाले आठ मत पाएकी थिइन् भने आचार्यले दुई मत मात्र पाएका थिए । नेपालका आचार्य जनस्वास्थ्य क्षेत्रका विज्ञ हुन् । बंगलादेशकी वाजेद बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् ।
डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा ११ देश सदस्य रहेका छन् । नेपाल, श्रीलंका, भुटान, भारत, उत्तर कोरिया, टिमोर लिस्टे, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, माल्दिभ्स र म्यानमार सदस्य हुन् ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend