logo
  • शनिबार, असोज ३ २०८३

पञ्जाबद्वारा कीर्तिमानी २६५ को लक्ष्य पछ्याउँदै जित


  • Galaxysamachar
  • आइतबार, बैशाख १३ २०८३

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा आज पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याएको छ।

दिल्लीमा शुक्रबार राति भएको खेलमा दिल्लीले दिएको २ सय ६५ रनको विशाल लक्ष्य पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाएर २ सय ६५ रन बनाउँदै पूरा गर्‍यो। पञ्जाबले ७ बल बाँकी रहँदा जित निकालेको हो।

पञ्जाबको जितमा प्रब्सिम्रन सिंह (७६ रन), प्रियान्श आर्या (४३ रन) र कप्तान श्रेयस अय्यर (३६ बलमा अविजित ७१ रन) ले उत्कृष्ट प्रदर्शन गरे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा २ विकेट गुमाएर २ सय ६४ रन बनाएको थियो।

दिल्लीका केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै ६७ बलमा अविजित १ सय ५२ रन बनाए। यो आइपिएलमा कुनै भारतीय खेलाडीले बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो।

राहुलले २६ बलमै अर्धशतक पूरा गरे भने ४७ बलमा शतक बनाए‌ । राहुलले इनिङ्सभर उत्कृष्ट आक्रामकता देखाउँदै १ सय बाट १ सय ५० रनसम्म पुग्न केवल १९ बल खर्चिए।

उनलाई नितीश राणाले राम्रो साथ दिए। राणाले ४४ बलमा ९१ रन बनाए। राहुल र राणाबीच २ सय २० रनको साझेदारी भएको थियो । जुन दिल्लीका लागि सबैभन्दा ठूलो साझेदारी बनेको छ।

विशाल लक्ष्य पछ्याएको पञ्जाबले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्‍यो। ओपनर प्रियान्श आर्या र प्रब्सिम्रन सिंहले पावरप्लेमा मात्र १ सय १६ रनको साझेदारी गर्दै टोलीलाई बलियो आधार तयार पारे।

आइपिएल इतिहासमा यो दोस्रो उच्च पावरप्ले स्कोर हो। पावरप्ले सकिँदा पञ्जाबले विकेट नगुमाई १ सय १६ रन बनायो।

दिल्लीका स्पिनर अक्षर पटेल र कुलदीप यादवले सातौं र आठौं ओभरमा ओपनरलाई आउट गर्दै खेलमा फर्कने प्रयास गरे। कुलदीप यादवले २ विकेट लिएर पञ्जाबलाई १० ओभरमा १४५/३ को अवस्थामा पुर्‍याए‌।

त्यसपछि पञ्जाबका कप्तान श्रेयस अय्यरले संयमित र आक्रामक ब्याटिङ गर्दै इनिङ्स सम्हाले। उनले २६ बलमा अर्धशतक पूरा गर्दै पञ्जाबलाई लक्ष्य नजिक पुर्‍याए। अन्त्यतिर शशांक सिंहसँग मिलेर अय्यरले लगातार छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend