logo
  • शुक्रबार, असोज २ २०८३

तीव्र गति, मादक पदार्थ सेवन र ओभरलोडिङ विरुद्ध निगरानी कडा


  • Galaxysamachar
  • सोमबार, बैशाख २१ २०८३

बाँके जिल्लामा सञ्चालन भइरहेका विभिन्न सार्वजनिक सवारीसाधनले ट्राफिक नियम उल्लंघन गर्दै मनपरी रूपमा सवारी सञ्चालन गरिरहेको जनगुनासोपछि ट्राफिक प्रहरीले निगरानी कडा पारेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार सार्वजनिक सवारीसाधन चलाउँदा तीव्र गतिमा चलाउने, चालकले मादक पदार्थ सेवन गर्ने, सवारीमा मनपरी रूपमा हुड जडान गरी यात्रु ओसारपसार गर्ने तथा अत्यधिक सामान बोक्ने जस्ता गतिविधि बढेपछि निगरानी कडा बनाइएको हो ।

सो क्रममा विभिन्न राजमार्ग तथा सडकखण्डमा विशेष ट्राफिक चेकजाँच सञ्चालन गरी नियम उल्लंघन गर्ने १५७ सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताउनुभयो ।

उहाँका अनुसार कारबाहीका क्रममा नियमविपरीत जडान गरिएका हुड तथा अतिरिक्त सिट हटाउन लगाइएको छ । साथै चालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न सचेत गराई आवश्यक प्रक्रिया पूरा गरी सवारी सञ्चालन गर्न अनुमति दिइएको छ ।

सार्वजनिक सवारीसाधनमा मनपरी संरचना परिवर्तन गर्दा यात्रुको सुरक्षामा गम्भीर जोखिम हुने भएकाले यस्ता गतिविधि नियन्त्रणमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।

नियम उल्लंघन गरी यात्रुको ज्यान जोखिममा पार्ने सवारीसाधनमाथि आगामी दिनमा अझ कडा अनुगमन र कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले सवारीसाधनमा मनपरी संरचना परिवर्तन गर्ने कार्य बढेको पाइएकाले कडाइ गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयले सबै सवारी चालक तथा व्यवसायीलाई नियमअनुसार सुरक्षित र व्यवस्थित रूपमा सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend