Galaxysamachar
बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) तत्काल सरकारबाट नबाहिरिने भएको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्णय नआएसम्म एमालेका मन्त्रीहरूले राजीनामा नदिने जानकारी दिनुभयो । उहाँले पछिल्लो समय सञ्चार माध्यम र राजनीतिक वृत्तमा फैलिएको मन्त्रीहरूको राजीनामासम्बन्धी चर्चा अनुमान मात्र भएको स्पष्ट पार्नुभयो ।
“पार्टीको माथिल्लो निकायबाट अहिलेसम्म कुनै निर्देशन आएको छैन । निर्देशन आएपछि पार्टीले जे निर्णय गर्छ, त्यही अनुसार अघि बढ्छौँ,” उहाँले भन्नुभयो । पौडेलका अनुसार हाल बागमती प्रदेशमा नेपाली कांग्रेससँगको सत्ता गठबन्धन यथावत् छ । केन्द्रमा नयाँ राजनीतिक समीकरणबारे छलफल भइरहे पनि त्यसको प्रभाव प्रदेश सरकारमा तत्काल नपर्ने उहाँले सङ्केत गर्नुभयो । “गठबन्धनका विषयमा माथिल्लो तहमा छलफल भइरहेको हुन सक्छ तर अहिलेसम्म कुनै ठोस निर्णय भएको छैन । त्यसैले अहिले नै सरकार छाड्ने वा राजीनामा दिने अवस्था छैन,” उहाँले भन्नुभयो ।
पछिल्ला दिनमा मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँट तथा बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको विषयमा उठेका विवादबारे पनि पार्टी नेतृत्व तहमा छलफल भइरहेको उहाँले बताउनुभयो । त्यससम्बन्धी निर्णय एक/दुई दिनभित्र टुङ्गो लाग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
यसबिच एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बदलिँदो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै पार्टी केन्द्र र गठबन्धनका अन्य दलसँग निरन्तर संवाद गरेर मात्रै आगामी निर्णय लिइने बताउनुभयो । “राजनीतिमा परिस्थिति हरेक दिन बदलिन्छ । त्यसैले अहिले नै सरकार छाड्ने वा बस्ने भन्ने निर्णय भएको छैन । पार्टी केन्द्रको निर्देशन र अन्य दलसँगको संवादपछि मात्रै थप निर्णय हुन्छ,” थपलियाले भन्नुभयो । केही दिनअघि नेता थपलियाले मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन भइसकेको भन्दै उहाँहरूले अनुकूल समय मिलाएर मुख्यमन्त्रीलाई राजीनामा बुझाउने बताउनुभएको थियो ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend