Galaxysamachar
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय केसरमहल, काठमाडौँले तीन वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।
कार्यालयको २०८३ साउन २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम साउन २६ गते सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई कालोसूचीमा राखिएको जानकारी गराइएको हो।
टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालय काठमाडौँको सिफारिसमा टोखा-०८ काठमाडौँस्थित स्पेक्स नेपाल प्रालिलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ। यस कम्पनीका मुख्य व्यक्ति प्रदिप केसी हुन्।
यसैगरी सडक डिभिजन डोटीको सिफारिसमा गोकर्णेश्वर-०८ काठमाडौँस्थित जेडिएमआर बिल्डर्स प्रालिलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। सो कम्पनीका मुख्य व्यक्ति रविप्रकाश सिंह रहेका छन्।
नेपाल विद्युत् प्राधिकरण दरबारमार्ग काठमाडौँको सिफारिसमा भारतको हैदरावादस्थित एमएस श्रुष्टि कन्टेक प्रालिलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ। यस कम्पनीका मुख्य व्यक्ति राजशेखर रेड्डी र स्मिता शुक्ला हुन्।
कालोसूचीमा राखिएको अवधिभर सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्। यो निर्णय सूचना प्रकाशित भएको मितिदेखि नै लागू भइसकेको छ।

© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend