Galaxysamachar
काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडक, राजमार्ग र पुलहरूसम्म पुग्न मार्ग (ट्र्याक) खोल्ने काम सुरु गरिएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक र यातायात सञ्जाल पुनः जोड्न चालिएको यो एउटा महत्वपूर्ण कदम हो ।
सडक विभागका प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेले बाढीपहिरोबाट क्षतिग्रस्त सडक, राजमार्ग र पुलसम्म पुग्न अहिले प्रभावित क्षेत्रहरूमा ‘ट्र्याक’ खोल्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “क्षतिको आकलन वा पुनर्निर्माणका लागि पहिला क्षतिग्रस्त ठाउँसम्म पुग्नु पर्यो । सो ठाउँसम्म पुग्न पहिला बाटो चाहिन्छ । अहिले त्यही बाटोका लागि ‘ट्र्याक’ खोलिरहेका छौँ । ‘ट्र्याक’ खोलिएपछि प्रभावित ठाउँमा पुगेर क्षतिको आकलन गरी पुनर्निर्माणको थप प्रक्रिया अगाडि बढाउन सकिन्छ ।”
उहाँले भन्नुभयो, “क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि प्रभावित ठाउँसम्म पुग्न सुरुमा बाटो नै खुलेको छैन । बाटो खुलेपछि त्यहाँ पुगेर अध्ययन गरी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउन सकिन्छ ।”
उहाँले नयाँ ट्र्याक खोल्ने काम सुरु भएसँगै अवरुद्ध भएका सडक र राजमार्गहरूमा फेरि यातायात सञ्चालन गर्न मद्दत पुग्ने बताउनुभयो । त्यसै गरी बाढीपहिरोले भत्काएका पुल र सडकका खण्डहरूसम्म पहुँच पुगेपछि तिनको स्थायी मर्मत र पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ । ‘ट्र्याक’ खुलेसँगै प्रभावित स्थानीय बासिन्दाका लागि खाद्यान्न, औषधी र अन्य अत्यावश्यक सामग्रीको राहत र आपूर्तिमा समेत सहजता आउन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।
पुनर्निर्माणका तीन चरण
प्रवक्ता न्यौपानेका अनुसार विपत्मा पूर्वाधार क्षेत्रमा आपत्कालीन ‘रेस्पन्स’, ‘रिकभरी’ र ‘रिकन्सट्रक्सन’ गरी तीन वटा चरण हुन्छन् । सुरुको चरण ‘रेस्पन्स’ अन्तर्गत क्षतिग्रस्त संरचनासम्म पुग्न ‘ट्र्याक’ खोल्नु नै हो । यो काम सुरु गरिएको छ र यसैलाई केन्द्रविन्दुमा राखेर काम अगाडि बढाइएको छ । त्यसै गरी दोस्रो चरण ‘रिकभरी’ अन्तर्गत भएको बाटोलाई अलि राम्रो बनाउने हो र तेस्रो चरण ‘रिकन्सट्रक्सन’ अन्तर्गत पहिलाको भन्दा अझ राम्रो, बलियो तथा टिकाउ हुने गरी पुनर्निर्माण गरिने हो ।
बाढीपहिरोले पासाङ ल्हामु राजमार्ग, पृथ्वी राजमार्ग र गल्छी–त्रिशूली–वेत्रावती–स्याफ्रुबेँसी सडकखण्ड लगायत मुख्य यातायात सञ्जाल र पुलहरूमा व्यापक क्षति पु¥याएको हो । बाढीका कारण पासाङ ल्हामु राजमार्ग र त्रिशूली कोरिडोरको करिब ४० किलोमिटर सडकखण्डसमेत पूर्ण रूपमा क्षतिग्रस्त भई रसुवासँग सिधा सडक सम्पर्क विच्छेद भएको छ ।
बाढीले नुवाकोटको वेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक खण्डलाई पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसबाहेक गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द भएको छ भने पृथ्वी राजमार्गको करिब १३ किलोमिटर सडक खण्ड लेदो र पहिरोले पुरिएको छ ।
आर्थिक क्षति
भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोका कारण भौतिक पूर्वाधार र अर्थतन्त्रमा अभूतपूर्व क्षति पुगेको बताउँदै उहाँले प्रारम्भिक अनुमान अनुसार मुलुकको भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिनुभयो । त्यसै गरी मुलुकको समग्र अर्थतन्त्रमा दुई खर्ब रुपियाँभन्दा बढीको नोक्सानी अनुमान गरिएको छ ।
पुलहरू
चीनको तिब्बत क्षेत्रमा हिमताल विस्फोट भई रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोले नेपालका थुप्रै पुलमा ठुलो क्षति पुर्याएको छ । प्रवक्ता न्यौपानेका अनुसार यस बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा कुल ४१ वटा पुलमा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
क्षतिग्रस्त पुलमा नेपाल–चीन जोड्ने ऐतिहासिक मितेरी पुल (रसुवागढी), टिमुरे पुल १ र २, भोटेकोशी पुल (चिलिमे), स्याफ्रुबेँसी पुल र नुवाकोटको पुराना तथा नयाँ वेत्रावती पुलहरू सामेल छन् । सरकारले यातायात पुनः सञ्चालनका लागि वेत्रावती लगायतका स्थानमा तत्कालै बेलिब्रिज जडान गर्ने कार्य अगाडि बढाएको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend