logo
  • बुधबार, भाद्र ३१ २०८३

म्याग्दीको बेनीस्थित खुलामञ्च साँझ लोकगायक प्रकाश दूतराज र उनको ब्यान्डको कार्यक्रम भदौ २७ गते शनिबार हुने


  • Galaxysamachar
  • बिहिबार, भाद्र २५ २०८३

म्याग्दीको बेनीस्थित खुलामञ्च शनिबार साँझ लोकगायक प्रकाश दूतराज र उनको ब्यान्डको प्रत्यक्ष धुनले गुञ्जिँदैछ।  आफ्नै जन्मभूमिबाट लोकसंगीतमा नयाँ अभ्यासको थालनी गर्दै प्रकाशले आफ्नो नेतृत्वमा तयार पारेको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ ब्यान्डको पहिलो कन्सर्ट तथा औपचारिक घोषणा गर्न लागेका हुन्।

यसअघि यो कार्यक्रम भदौ १२ गतेका लागि तय थियो। तर भोटेकोशी बाढी र त्यसपछिको परिस्थितिका कारण स्थगित गरिएको थियो। अब कार्यक्रम भदौ २७ गते शनिबार हुने भएको हो।

म्याग्दी उद्योग वाणिज्य संघ आयोजक रहेको कार्यक्रममा प्रकाशले पहिलोपटक आफ्नो ब्यान्डसहित प्रत्यक्ष प्रस्तुति दिनेछन्। ‘दूतराज प्रकाश एन्ड लाइनअप’मा प्रकाश मुख्य गायकका रूपमा छन्।

लोकसंगीतसँगै विभिन्न सांगीतिक विधाका वाद्यवादकलाई समेटेर तयार गरिएको यो ब्यान्डमार्फत प्रकाश अब ट्रयाकमा आधारित प्रस्तुतिभन्दा प्रत्यक्ष वाद्यवादनलाई प्राथमिकता दिने तयारीमा छन्।

‘१३/१४ वर्षको सपनाको यात्रामा नयाँ अभ्यास सुरू गरेको छु। अबका सांगीतिक प्रस्तुति ट्रयाकभन्दा वाद्यवादकसहित हुनेछन्,’ उनले भनेका छन्।

म्याग्दीबाटै पहिलो कन्सर्ट गर्नुलाई प्रकाशले भावनात्मक रूपमा लिएका छन्। आफूलाई पहिलोपटक स्टेजमा गाउने अवसर दिएको म्याग्दी उद्योग वाणिज्य संघकै आयोजनामा नयाँ सांगीतिक अध्याय सुरू गर्न पाउँदा उनी उत्साहित छन्।

‘करिब १४ वर्षदेखि मनमा सम्हालेर राखेको सपना जहाँ देखेको थिएँ, त्यहीँबाट फुकाउने अवसर पाएको छु,’ उनी भन्छन्।

लोकदोहोरी तथा लोकसंगीतमा ब्यान्डसहित कन्सर्ट गर्ने अभ्यास नेपालमा अझै नयाँ भएकाले प्रकाशले आफ्नो यो यात्रालाई ‘नयाँ अभ्यास’का रूपमा लिएका छन्। कार्यक्रममा प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएको छ।

प्रकाश अब मौलिक बाजा र प्रत्यक्ष वाद्यवादनसहित स्रोता-दर्शकमाझ पुग्ने तयारीमा छन्।

बेनीको पहिलो कन्सर्टपछि ‘दूतराज प्रकाश एन्ड लाइनअप’ले नेपालका विभिन्न सहरमा सांगीतिक यात्रा गर्ने तयारी गरेको छ। त्यसपछि अन्तर्राष्ट्रिय टुरको समेत योजना बनाइएको प्रकाशले बताएका छन्।

गायक प्रकाश नेपाली लोकसंगीतमा आफ्ना मौलिक सिर्जनामार्फत श्रोता-दर्शकमाझ अलग पहिचान बनाएका सर्जक तथा गायक हुन्। उनका ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’, ‘मनमाया’ लगायतका गीत चर्चामा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend