Galaxysamachar
काठमाडौँ, भदौ ३० गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य खाद्यान्नको माग बढेसँगै दाल, चामल, चिनी, खानेतेल, गेडागुडी लगायतका दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि भएको छ ।
बाढीपहिरोका कारण सडक तथा ढुवानीमा आएको समस्याले ढुवानी लागत बढ्दा त्यसको असर खाद्यान्नको मूल्यमा परेको सम्बन्धित निकाय तथा व्यवसायीहरुले बताएका छन् ।
ढुवानी लागत बढ्दा मूल्यमा असर
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार पछिल्लो समय खाद्यान्नको मूल्य बढ्नुको प्रमुख कारण ढुवानी लागत वृद्धि हो । बाढीपहिरोका कारण सडकमा समस्या हुँदा खाद्यान्न ढुवानीमा कठिनाइ भएको र त्यसको असर बजार मूल्यमा परेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार अहिले चामल, चिनी, तेल, गेडागुडी लगायत खाद्यान्नको मूल्य सामान्य रूपमा बढेको छ । चामलको मूल्यमा प्रतिकिलो १५ देखि २० रुपियाँसम्म वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
कृष्णभिरको पहिरो पूर्णरूपमा पन्छाएर सडक सञ्चालन सहज भएपछि ढुवानी लागतसमेत घट्ने र त्यसको असर खाद्यान्नको मूल्यमा पर्ने उहाँको भनाइ छ । सडक सहज भएपछि अहिले बढेको मूल्यमा कमी आउन सक्ने उहाँले बताउनुभयो ।
चिनीको मूल्यमा पनि पछिल्लो समय वृद्धि भएको विभागले जनाएको छ । पहिले ८० देखि ९० रुपियाँमा पाइने चिनी अहिले मिलबाटै करिब १०० रुपियाँमा बिक्री हुने गरेको र उद्योगमा १०८ रुपियाँसम्ममा बिक्री भइरहेको किरातीले जानकारी दिनुभयो । थोक बिक्रेताले १२० रुपियाँमा खरिद गरी १३० रुपियाँसम्ममा बिक्री गरिरहेको बजारको अवस्था पनि उहाँले जानकारी दिनुभयो ।
बजार अनुगमन तीव्र
चाडपर्वको समयमा कालोबजारी तथा अस्वाभाविक मूल्य वृद्धि हुन सक्ने भएकाले विभागले बजार अनुगमनलाई तीव्र बनाएको किरातीले बताउनुभयो । उहाँका अनुसार बजार अनुगमनका लागि फरक–फरक टोली गठन गरी विभिन्न क्षेत्रमा अनुगमन भइरहेको छ ।
“अनुगमनका क्रममा व्यवसायीले सामान खरिद गरेको मूल्य र उपभोक्तालाई बिक्री गरेको मूल्यलाई तुलना गर्ने गरिएको र पसलको खरिद बिल तथा बिक्री मूल्यका आधारमा वस्तुको मूल्य उचित भए नभएको समेत हेर्ने गरिएको छ” किरातीले भन्नुभयो ।
बिक्री मूल्यभन्दा बढी मूल्य लिएमा विभागको टोलफ्री नम्बर ११३७ मा उजुरी गर्न किरातीले उपभोक्तालाई आग्रह गर्नुभयो । चाडपर्वको समयमा आवश्यकताभन्दा बढी खाद्यान्न सञ्चय नगर्न उहाँले आग्रह छ ।
भारतमा मूल्य बढ्दा नेपालमा असर
साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार नेपालमा भित्रिने अधिकांश चामल भारतबाट आउने भएकाले भारतमा चामलको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ ।
बाढीपहिरोका कारण सडकमा समस्या हुँदा पहिले २० टनसम्म सामान ढुवानी गर्ने सवारी साधनको स्थानमा अहिले १० टन क्षमताका सवारीसाधन प्रयोग गर्नुपरेको उहाँले बताउनुभयो । कम क्षमताका सवारीसाधन प्रयोग गर्नुपर्दा ढुवानी लागत बढेको र कतिपय अवस्थामा मनोमानी रूपमा भाडा लिने गरिएको उहाँले बताउनुभयो ।
कृष्णभिरको पहिरो पन्छाएर सडक दोहोरो रूपमा सञ्चालनमा आएपछि ढुवानी सहज हुने र त्यसपछि खाद्यान्नको मूल्यमा पनि कमी आउन सक्ने प्रधानले जानकारी दिनुभयो ।
सहुलियत पसल सञ्चालनको तयारी
चाडपर्वलाई लक्षित गरेर साल्ट ट्रेडिङले विगत वर्षमाजस्तै यस वर्ष पनि देशको विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको प्रधानले बताउनुभयो । सहुलियत पसल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।
हाल साल्ट ट्रेडिङका विभिन्न शाखाबाट चामल, दाल, चिनी, तेल, गेडागुडी लगायतका खाद्यवस्तु बिक्री भइरहेको र उपभोक्ताले ती शाखाबाट सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्न सक्ने उहाँले बताउनुभयो ।
प्रधानका अनुसार बजारमा चामलको मूल्य बढेको भए पनि अत्यधिक रूपमा वृद्धि भएको अवस्था छैन । साल्ट ट्रेडिङबाट बासमती चामल प्रतिबोरा ३ हजार ५५० देखि ३ हजार ६६० रुपियाँ र जिरा मसिनो चामल प्रतिबोरा २ हजार ५५० देखि २ हजार ६०० रुपियाँसम्ममा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।
चामलमा २०० रुपियाँसम्म वृद्धि
काठमाडौँको कमलपोखरी र पहेँलो पुल (हाडीगाउँ) मा पसल सञ्चालन गर्दै आउनुभएका शुभम होलसेलका सञ्चालक सुदीप अधिकारीले सडक तथा ढुवानीको अवस्थाका कारण खाद्यान्नको मूल्यमा सामान्य वृद्धि भएको बताउनुभयो ।
उहाँका अनुसार मोटा चामलको मूल्यमा प्रतिबोरा अहिले १५० देखि २०० रुपियाँसम्म वृद्धि भएको छ । त्यस्तै, खानेतेलमध्ये सनफ्लावर तेलको एक कार्टुनमा पछिल्लो १५ दिनमा करिब २०० रुपियाँको मूल्य फरक परेको उहाँले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार उहाँको “पसलमा करिब एक सातासम्म पुग्ने खाद्यान्नको मौज्दात रहेको छ । सडकको अवस्था पुनः सहज भएपछि खाद्यान्नको मूल्य घट्न सक्ने भएकाले धेरै सामान मौज्दात नराखेको उहाँले बताउनुभयो ।”
चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मागसमेत बढ्दै गएको उहाँको भनाइ छ । सामान्य समयको तुलनामा अहिले उपभोक्ताले चाडपर्वका लागि आवश्यक खाद्यान्न खरिद गर्न थालेकाले बजारमा माग बढेको उहाँले जानकारी दिनुभयो ।
महँगीको मारमा उपभोक्ता
उपभोक्ता भगवती पाण्डेले विगतको तुलनामा अहिले बजारमा खाद्यान्नको मूल्य बढेको गुनासो गर्नुभयो । उहाँका अनुसार पहिले प्रतिबोरा एक हजार ७०० रुपियाँमा पाइने चामल अहिले दुई हजार २०० रुपियाँसम्म पर्ने गरेको छ ।
खानेतेलको मूल्यमा पनि वृद्धि भएको उहाँले बताउनुभयो । पहिलेको तुलनामा अहिले खानेतेलको एक कार्टुनमा २०० रुपियाँसम्म मूल्य फरक परेको उहाँले जानकारी दिनुभयो । चाडपर्वका लागि आवश्यक खाद्यान्न तथा अन्य सामग्री खरिद गर्ने समयमा मूल्य बढ्दा उपभोक्तालाई थप आर्थिक भार पर्ने उहाँको गुनासो छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend