logo
  • शुक्रबार, असोज २ २०८३

अभिनाशको एकै खेलमा ६ विकेटको कीर्तिमान माल्दिभ्स विरुद्ध


  • Galaxysamachar
  • आइतबार, असोज १४ २०८०

हान्झाउ । डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै १९औं एसियाड खेलेका अभिनाश बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाए ।

चीनको हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ए को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराउँदा अभिनाशले कीर्तिमानी प्रदर्शन गरे ।

उनले ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएपछि २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल अगावै ७४ रनमा अलआउट भयो । नेपाल लगातार दुई खेल जित्दै समूह ए को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेपालको लागि ६ विकेट लिने पहिलो बलर बनेका अभिनाशले ह्याट्रिक विकेट लिने अवसर २ पटक बनाएका थिए । तर त्यसबाट भने दुई पटक नै उनी बञ्चित भए ।

‘५ विकेट लिने लक्ष्य थियो । एकदमै राम्रो लागिरहेको छ,’ कीर्तिमानी प्रदर्शनपछि अभिनाशले भने, ‘ह्याट्रिक भएको को भए अझ राम्रो हुन्थ्यो ह्याट्रिक भएन । फस्ट र लास्टमा २ पटक ह्याट्रिक मिस भयो ।’

टी-२० स्पेशलिस्ट बलरको रुपमा परचित भए पनि अभिनाशले राष्ट्रिय टिममा निरन्तर स्थान बनाउन भने सकेका थिएनन् ।

गत वर्ष अप्रिलमा कीर्तिपुरमा भएको मलेसिया र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज खेलेका उनले त्यसपछि पहिलो पटक नेपालका लागि खेलेका हुन् ।

आइतबार नेपालले फास्ट बलर करण केसीलाई बाहिर राख्दै विनोद भण्डारीलाई पहिलो रोजाईँमा खेलाइएको थियो ।

पहिलो खेलमा सोमपाल कामी, करण केसी, गुल्शन झापछि चौथो बलरको रुपमा खेलेका अभिनाशले २ ओभरमा १ मेडन राख्दै २ रन खर्चेर २ विकेट लिएका थिए ।

अभिनाशले छैटौं र अन्तिम ओभरमा ३-३ विकेट लिए ।

छैटौं ओभरको तेस्रो र चौथो बलमा विकेट लिएका उनी ह्याट्रिक नजिक पुगे पनि चुके । तर छैटौं बलमा विकेट लिँदै एकै ओभरमा ३ विकेट लिए । त्यसपछि उनले अन्तिम ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै फेरि ह्याट्रिक नजिक पुगेका थिए । तर तेस्रो बलम विकेट लिन नसक्दा ह्याट्रिकबाट वञ्चित भए । यद्यपि चौथो बलमा विकेट लिँदै एकै खेलमा ६ विकेट लिए ।

मंगोलियाविरुद्धको खेलमा दुई विके लिएका उनले दोस्रो खेलपछि आफ्नो पुरानो लय भेट्टाएको महसुस गरे । ‘पहिलो म्याच खेल्दा खासै फिल भएको थिएन । आज पूरानो लयमा फर्किएको जस्तो फिल भयो ।’

सन् २०१९ मा युएईविरुद्ध टी-२० आईमा डेब्यु गरेका अभिनाश पहिलो सिरिजमै प्लेअफ दि सिरिज बनेका थिए । त्यसपछि उनले २०२० फेब्रुअरीमा ओडीआईमा पनि डेब्यु गरेका थिए । तर उनी ओडीआई भन्दा टी-२०आईमा फिट हुने बलर हुन् ।

मात्र २ वटा ओडीआई खेलेका उनले ३७ टी-२०आईमा ४८ विकेट लिएका छन् ।

उनी नेपालका लागि टी-२०आईमा सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । सन्दीप लामिछानेले सर्वाधिक ८८ र करण केसीले ६२ विकेट लिएका छन् । एक दशकदेखि नेपालका लागि खेल्दै आएका सोमपाल कामीले ४० विकेट लिएका छन् ।

कप्तान रोहितले अभिनाशको बलिङको प्रशंसा गरे । ‘आजको गेममा अभिनाश दाईले योर्करहरु फालिराख्नुभयो । एकदमै राम्रो बलिङ थियो ।’

समूह चरणमा तुलनात्मक रुपमा दुई कमजोर टिमसँग खेलेको नेपालले अब क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेश मध्ये एक टिमसँग खेल्नुपर्छ ।

टी-२०आईमा नेपालले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो टिम बंगलादेश हो । सन् २०१४ मा बंगलादेशमै भएको टी-२० विश्वकपमा नेपालले बंगलादेशसँग खेलेको थियो ।

टेष्ट राष्ट्रका टिमहरु वानडे विश्वकपका लागि भारतमा रहेकोले सबै टिमले दोस्रो रोजाईँको टिमलाई एसियाडमा पठाएका छन् । तर पनि ती टिम राम्रो रहेको भन्दै अभिनाशले राम्रो टिमसँग खेल्नु पाउनु अवसर भएको बताए । ‘राम्रो टिमसँग खेल्नु अवसर हो । हाम्रो लागि राम्रो म्याच पनि हुन्छ । राम्रो प्रदर्शन हुन्छ,’ उनले भने, ‘जस्तो सुकै टिम भए पनि राम्रो खेल्ने हो । प्रदर्शन राम्रो गर्ने र देशको लागि मेडल जित्ने लक्ष्य हो ।’

अभिनाशले टेष्ट राष्ट्रसँग खेल्दा कठिन हुने तर विकेट अनुसार के हुन्छ भन्न नसकिने बताए । ‘ठूलो टिमसँग खेल्दा कठिन त हुन्छ । यहाँ भएका टिमहरु राम्रो नै छ । यो विकेटमा केही भन्न सकिन्न जे पनि हुन सक्छ । कुनै बल लुकेर आउन सक्छ । ब्याटिङ गर्न सजिलो चाहीँ छैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend