Galaxysamachar
काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रतिदिन बढिरहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) मा लाइन लाग्ने गरेका छन् । अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दो क्रममा छ ।
अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार डेंगु संक्रमित आइतबार दिउँसोसम्म १२ जना भर्ना भएका छन् । जसमध्ये आईसीयूमा दुईको उपचार भइरहेको छ । ‘एक हप्ता अगाडि २/३ जना संक्रमण पुष्टि हुने गरेको थियो । तर, पछिल्लो तीन–चार दिनमा डेंगु संक्रमितको केस ह्वात्तै बढेको छ’ चालिसेले अनलाइनखबरसँग भने, ‘अबका केही दिन डेंगु संक्रमित संख्या बढ्ने आकलन गर्न सकिन्छ ।’
अस्पतालको बहिरंग कक्ष (ओपीडी) मा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण लिएर आउने गरेका छन्, जसमध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको छ ।पाटन अस्पतालमा एक सातायता ४५ जना डेंगुका बिरामी भर्ना भएका छन् । ‘दैनिक १०/१२ जना भर्ना भइराख्नुभएको हुन्छ’ अस्पताल निर्देशक डा. रवि शाक्यले भने, ‘घर–घरमा डेंगु पुगेको छ । अस्पतालमा बेड भरिंदै गएका छन् ।’
त्रिवि शिक्षण अस्पतालमा पनि पछिल्ला दिन ओपीडी आउने बिरामीसँगै भर्ना हुने संख्या बढिरहेको छ । अस्पतालका डेंगु फोकल पर्सन डा. सविन थपलियाका अनुसार डेंगु संक्रमित १० जना भर्ना भएका छन् । ‘दैनिक १०/१५ जना नयाँ संक्रमित थपिंदै गएका छन् । अझै दुई–तीन हप्ता संक्रमणले तीव्रता लिन सक्छ’, डा. थपलियाले भने ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दैनिक करिब ६० देखि ७० जनामा डेंगु संक्रमण पुष्टि भइरहेको छ । नयाँ केस बढ्दै जानुले संक्रमण फैलिने जोखिम बढ्दै गएको विज्ञ बताउँछन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार यस वर्ष ७६ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।
गत माघदेखि २१ असोजसम्म ३५ हजार ९४ जना डेंगुबाट संक्रमित भएका छन् । हालसम्म २० जनाको मृत्यु भइसकेको छ । डेंगुबाट एक महिना अगाडिसम्म सुनसरी, झापा, धादिङ, मोरङ लगायत जिल्ला बढी प्रभावित भएका थिए । तर, पछिल्ला दिनमा यी जिल्लामा संक्रमित संख्या घट्दै गएको छ भने काठमाडौं उपत्यकामा भने संक्रमण बढ्दो छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend