logo
  • मंगलबार, कार्तिक १८ २०८३

त्रिशूली बाढी प्रभावितका लागि २ करोड डलर सहयोग प्रस्तावमाथि छलफल गर्न राष्ट्रसंघीय ‘लस एन्ड ड्यामेज’ कोषको बैठक बस्दै


  • Galaxysamachar
  • सोमबार, कार्तिक ३ २०८३

भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नेपालका लागि २ करोड अमेरिकी डलर आर्थिक सहायता छुट्याउने प्रस्तावमाथि छलफल गर्न राष्ट्रसंघको ‘लस एन्ड ड्यामेज’ कोषको विशेष बैठक आगामी अक्टोबर २२ (कात्तिक ५) मा बस्ने भएको छ।

संयुक्त राष्ट्रसंघीय जलवायु प्रक्रियाअन्तर्गत स्थापित ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ (एफआरएलडी) को यो पहिलो असाधारण बोर्ड बैठक हो। यो बैठक भर्चुअल (अनलाइन) रूपमा बस्नेछ।

अन्तर्राष्ट्रिय जलवायु समाचार संस्था ‘क्लाइमेट होम न्युज’ को रिपोर्ट अनुसार बैठकमा नेपालका लागि २ करोड डलर (३ अर्ब रूपैयाँभन्दा बढी) अस्थायी रूपमा छुट्याउने प्रस्ताव पेस हुने भएको छ।

विकसित र विकासशील दुवै समूहका बोर्ड सदस्यहरूले तयार पारेको प्रस्ताव आफूले प्राप्त गरेको उक्त सञ्चारमाध्यमले जनाएको छ।

प्रस्तावमा नेपालका लागि सम्भावित सहायताबापत २ करोड डलर र निगरानी तथा सुपरिवेक्षण खर्चका लागि थप १६ लाख डलर गरी कुल २ करोड १६ लाख डलर अस्थायी रूपमा छुट्याउने विषय समेटिएको छ।

तर बैठकले उक्त प्रस्ताव पारित गर्छ कि गर्दैन भन्ने निश्चित छैन। प्रस्ताव पारित भए पनि नेपालले तत्काल पैसा पाउने होइन।

त्यसका लागि नेपालले आर्थिक सहायता कसरी प्रयोग गर्ने भन्ने विस्तृत प्रस्ताव पेस गर्नुपर्नेछ। त्यसपछि कोषले मूल्यांकन गरेर सहायता स्वीकृत गर्ने वा नगर्ने निर्णय गर्नेछ।

कोषको आधिकारिक वेबसाइटले अक्टोबर २२ मा पहिलो असाधारण बोर्ड बैठक बस्ने पुष्टि गरेको छ। बैठकको औपचारिक एजेन्डा र दस्तावेज भने आइतबारसम्म सार्वजनिक गरिएका छैनन्।

नेपालमा भदौ १० गते आएको बाढीपछि पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि कम्तिमा ४ अर्ब ७८ करोड डलर (करिब ७ खर्ब २३ अर्ब रूपैयाँ) आवश्यक पर्ने सरकारी आकलन छ। त्यसको तुलनामा प्रस्तावित २ करोड डलर सहायता कुल आवश्यकताको ०.४२ प्रतिशत मात्र हो।

बाढी आएको ५७ दिनपछि बल्ल विशेष बैठक बस्न लागेकाले नेपालले रकम पाउन अझै कति समय कुर्नुपर्ने हो भन्ने प्रश्न उठेको छ।

यसले जलवायु परिवर्तनबाट हुने क्षति सम्बोधन गर्न स्थापना गरिएको अन्तर्राष्ट्रिय कोषले विपदबाट प्रभावित मुलुकलाई कति छिटो सहायता उपलब्ध गराउन सक्छ भन्ने प्रश्न पनि उठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend