Galaxysamachar
बर्दिया, कात्तिक १६ गते । गुलरिया नगरपालिका–३ खैरीकी आशाकुमारी थारूले चार वर्षअघिसम्म एक बिघा खेतमा बदाम खेती गर्नुहुन्थ्यो । अहिले त्यही खेतमा ढकमक्क सयपत्री फूल फुलेका छन् ।
आशाकुमारीकी छोरी पार्वतीले सयपत्री फूलले शत्रुजीव नियन्त्रणमा सहयोग गर्ने भएकाले सुरुमा खेतका डिलमा फूल रोप्ने गर्नुभएको थियो । कृषि प्राविधिक अध्ययन गर्नुभएकी पार्वतीले फूलको माग बढ्दै गएपछि तीन कट्ठा जग्गाबाट व्यावसायिक फूल खेती सुरु गर्नुभएको थियो । पार्वती अध्ययनका लागि इजरायल गए पनि परिवारले फूल खेतीलाई निरन्तरता दिइरहेको छ ।
“पहिले बदाम खेती गर्थ्यौँ, त्यसमा भन्दा राम्रो आम्दानी हुने भएकाले पनि फूल खेती गरिरहेका छौँ,” आशाकुमारीले भन्नुभयो, “समयमा फूल उत्पादन भयो र बजार मूल्य राम्रो पाइयो भने राम्रो आम्दानी हुन्छ ।”
उत्पादित फूल स्थानीय बजारसँगै नेपालगञ्ज, कैलाली, सुर्खेत, चितवन र पोखरासम्म पठाउने गरिएको उहाँले बताउनुभयो । अनलाइन र फोनमार्फत माग आएपछि सोहीअनुसार फूल पठाउने गरिएको छ । गत वर्ष एक बिघा क्षेत्रफलमा गरिएको फूल खेतीबाट करिब तीन लाख रुपियाँ बराबरको फूल बिक्री गरेको उहाँले जानकारी दिनुभयो । यस वर्ष गत वर्षको तुलनामा उत्पादन राम्रो भएको उहाँको भनाइ छ ।
“गत वर्षको तुलनामा उत्पादन राम्रो छ । बजार पायो भने आम्दानी पनि राम्रो हुन्छ,” उहाँले भन्नुभयो ।
यस वर्ष दसैँको समयमा प्रतिकिलो तीन सय रुपियाँका दरले दुई क्विन्टल फूल बिक्री गरिसकेको आशाकुमारीले बताउनुभयो । दसैँ यस वर्ष छिटो परेकाले फूल पनि समयमै तयार भएर बिक्री गर्न पाइएको उहाँको भनाइ छ ।
फूल टिपेर भण्डारण गर्ने व्यवस्था नहुँदा तयार भएको फूल बिग्रिने समस्या रहेको आशाकुमारीका श्रीमान् रामचरण थारूले बताउनुभयो । अघिल्लो वर्ष कोल्डस्टोरमा राखिएको फूलसमेत बिग्रिएको उहाँले जानकारी दिनुभयो । फूल भण्डारणका लागि छुट्टै शीतभण्डार नहुँदा समस्या भएको उहाँको भनाइ छ ।
तिहारअघि तयार भएको फूल भण्डारण गर्न बर्दिया जिल्लामा व्यवस्था नभएको उहाँले गुनासो गर्नुभयो । “भण्डारण र बजारको व्यवस्थापन भएमा आगामी वर्ष फूल खेती बढाउने थिएँ । बजारको व्यवस्था भए वर्षभरि नै सयपत्री फूल उत्पादन गर्ने योजना बनाएको छु,” रामचरणले भन्नुभयो ।
स्थानीयका अनुसार बर्दियामा व्यावसायिक रूपमा फूल खेती गर्ने किसान उहाँहरू मात्रै हुनुहुन्छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend