logo
  • शुक्रबार, असोज २ २०८३

युनाइटेडको पुनरागमन जित, १५ वर्षीय गाब्रिएलको डेब्यु


  • Galaxysamachar
  • आइतबार, साउन १७ २०८३

प्रि–सिजन मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले एट्लेटिको म्याड्रिडलाई २-१ ले पराजित गर्दा १५ वर्षीय जेजे गाब्रिएलले सिनियर टोलीबाट डेब्यु गरेका छन्।

स्टकहोममा भएको एट्लेटिकोले खेलको पाँचौं मिनेटमै अर्नाउ ओर्टिजको गोलबाट अग्रता लिए पनि युनाइटेडले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्‍यो।

ब्रायन म्बेउमोले ५३औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे । ७४औं मिनेटमा उनले अर्को गोल थप्दै टोलीलाई जित दिलाए।

खेलको अन्तिम आठ मिनेट मैदान उत्रिएका गाब्रिएलले पहिलो पटक सिनियर फुटबलको अनुभव बटुले। मैदान प्रवेश गरेलगत्तै उनले एट्लेटिकोका अनुभवी डिफेन्डर होसे मारिया जिमेनेजको कडा चुनौती सामना गरे।

1000135844-1785639056.jpg
त्यसपछि उनले संयमित प्रदर्शन गर्दै केही राम्रा मुभ पनि निकाले। एक प्रहार विपक्षीले ब्लक गरेको थियो भने पेनाल्टी क्षेत्रमा फाउल पनि खेपे।

युनाइटेडका डिफेन्डर लेनी योरोले गाब्रिएलको खुलेर प्रशंसा गरे। ‘उनी निकै प्रतिभाशाली खेलाडी हुन्। अझै सानै छन्, सिक्न र सुधार गर्न धेरै बाँकी छ। तर उनी विनम्र छन् र निरन्तर मेहनत गरिरहेका छन्। डेब्यु गर्न पाउनु उनका लागि ठूलो उपलब्धि हो,’ योरोले भने।

विश्वकपबाट फर्किएका अमाद डियालोले पनि यस खेलमा पहिलो पटक प्रि–सिजन खेले। उनले केही आकर्षक व्यक्तिगत प्रदर्शन गरे पनि केही गल्तीका कारण युनाइटेड सुरुआती दबाबमा परेको थियो। यद्यपि, उनले आक्रमण निर्माणमा महत्त्वपूर्ण भूमिका खेले र आफ्नो लयमा फर्कने संकेत दिए।

यसैबीच, युनाइटेडका टर्किस गोलरक्षक अल्टाय बायिन्दिर क्लब छाड्ने सम्भावना बलियो बनेको छ। ला लिगा क्लब सेल्टा भिगोले उनलाई भित्र्याउन चासो देखाएको छ।

वेल्सका गोलरक्षक कार्ल डार्लो टोलीमा भित्रिएपछि बायिन्दिरले नयाँ क्लब रोज्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend