Galaxysamachar
घरेलु टोली इंग्ल्यान्ड दक्षिण अफ्रिकालाई ४० रनले हराउँदै आइसिसी महिला टि ट्वान्टी विश्वकप २०२६ को फाइनलमा पुगेको छ। इंग्ल्यान्डले अब उपाधिका लागि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।
द ओभलमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। १ सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनमै सीमित भयो।
इंग्ल्यान्डको जितमा नेट स्किभर ब्रन्टले ४७ बलमा ११ चौका र एक छक्कासहित सर्वाधिक ७५ रन बनाइन्। हेदर नाइटले पनि ४७ बलमा ५८ रनको उत्कृष्ट इनिङ्स खेलिन्।
यी दुईले चौथो विकेटका लागि ९० बलमा १ सय ३३ रनको साझेदारी गर्दै सुरुआती संकटबाट टोलीलाई बलियो अवस्थामा पुर्याए। महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो।
इंग्ल्यान्डले भने राम्रो सुरुआत गर्न सकेन । २३ रन बनाउँदा ३ विकेट गुमाएपछि टोली दबाबमा पर्यो। तर स्किभर–ब्रन्ट र नाइटले संयमित तथा आक्रामक ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए।
दक्षिण अफ्रिकाका शबनिम इस्माइलले २ र मरिजान कापले १ विकेट लिइन्। इस्माइलले महिला टि ट्वान्टी विश्वकपमा ५० विकेट पूरा गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाइन्।
जवाफमा दक्षिण अफ्रिकाले राम्रो सुरुआत गर्न सकेन। ताज्मिन ब्रिट्सले सर्वाधिक ५१ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्। कप्तान लाउरा वोल्भार्ड्ट १३ रनमै आउट भइन्।
इंग्ल्यान्डका लरेन बेल र चार्ली डिनले समान २ विकेट लिए। उत्कृष्ट फिल्डिङ र कसिलो बलिङका कारण दक्षिण अफ्रिका लक्ष्य नजिक पनि पुग्न सकेन।
अब इंग्ल्यान्डले आइतबार लर्ड्स मैदानमा हुने फाइनलमा साविक विजेता अष्ट्रेलियासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। अष्ट्रेलिया वेस्ट इन्डिजलाई ८ हराउँदै फाइनल पुगेको थियो।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend