Galaxysamachar
पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको लागि बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।
पोखराले एनपिएलका लागि यो सिजन अनुबन्ध गरेको सैफुद्दिन तेस्रो बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौ विदेशी खेलाडी हुन् ।
पोखराले यसअघि नै बंगलादेशकाअलराउण्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ । यस्तै श्रीलंका अलराउण्डरद्वय धनन्जय लक्षण र चामिका करुणारत्नेलाई आबद्ध गरेको छ ।
पेस बलिङ अलराउण्डर सैफुद्दिनलाई अनुबन्ध गरेपछि पोखराको लोअर अर्डर र पेस बलिङ डिपार्टमेन्ट बलियो बन्ने विश्वास लिएको छ । नेपाली मिडियम पेसर आकाश चन्दसँगै सैफुद्दिन र चामिका करुणारत्नेले पेस बलिङ डिपार्टमेन्ट सम्हाल्नेछन् ।
२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० ओडिआई र ५१ टि ट्वान्टी आई खेल खेलेका छन् । उनले ओडिआईमा ४२ र टि ट्वान्टी आईमा ५७ विकेट लिएका छन् । यस्तै सबैखाले टि ट्वान्टीमा १ सय ५२ खेल खेल्दै १ सय ९३ विकेट लिएका छन् ।
सैफुद्दिनले बंगलादेशको यू१९ टिम र राष्ट्रिय टिमसँगै बंगलादेशको ५ फरक फ्रेन्चाइज टिमबाट त्यहाँको लिग खेलिसकेका छन् ।
तेस्रो एनपिएलको लागि पोखरा एभेन्जर्सले श्रीलंकाकै पूर्वस्टार स्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोखराले यसपटक मुख्य प्रशिक्षक देखि विदेशी खेलाडीहरुमा पनि परिवर्तन गर्दै सन्तुलित टिम बनाएको छ ।
श्रीलंकन धननज्य लक्षणलाई मात्र पोखराले तेस्रो सिजनमा निरन्तरता दिएको छ । बाँकी ४ विदेशी खेलाडी पहिलो पटक एनपीएल खेल्ने तयारीमा छन् ।
यसैगरी, भारतीय पूर्वक्रिकेटर तथा टि ट्वान्टी विश्वकप विजेता इरफान पठानलाई टोलीको क्रिकेट एम्बेसडर नियुक्त गरिएको छ ।
पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको थियो।
अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई अक्सनबाट आबद्ध गरेको थियो ।
८ टोलीको सहभागितामा तेस्रो सिद्धार्थ बैंक एनपिएल कात्तिक ९ देखि मंसिर ५ गते ( अक्टोबर २६ देखि नोभेम्बर २१ ) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend