logo
  • आइतबार, कार्तिक ९ २०८३

फ्रान्समा थामिएन प्रदर्शन, पेरिससहित विभिन्न सहरमा झडप


  • Galaxysamachar
  • आइतबार, कार्तिक ९ २०८३

फ्रान्समा बढ्दो महँगी र आर्थिक असमानताविरुद्ध शनिबार देशभर लाखौँ मानिस सडकमा उत्रिएका छन्।

अधिकांश स्थानमा प्रदर्शन शान्तिपूर्ण रहे पनि साँझ पर्दै जाँदा राजधानी पेरिस, दोस्रो ठूलो सहर मार्सेलीसहित विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभरका प्रदर्शनमा ४ लाख १० हजार मानिसहरू सहभागी भएका थिए। तर मजदुर युनियनहरूले प्रदर्शनमा सहभागी हुनेको संख्या मन्त्रालयले सार्वजनिक गरेको भन्दा दोब्बर रहेको दाबी गरेका छन्।

पेरिसको दक्षिणपूर्वी क्षेत्रमा भएको मुख्य प्रदर्शनमा मात्रै कम्तीमा एक लाख १० हजार मानिस सहभागी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

उनीहरूले बढ्दो जीवनयापन खर्च र समाजमा गहिरिँदै गएको आर्थिक असमानताविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शन सकिएपछि भने अवस्था तनावपूर्ण बनेको थियो। हुड लगाएका करिब पाँच सय युवाको समूहलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।चिसो र वर्षाका बीच केही समय तनाव कायम रहे पनि पछि उक्त समूह तितरबितर भएको थियो।

फ्रान्सको दोस्रो ठूलो सहर मार्सेलीसमा युवाहरूले सडक अवरुद्ध गर्न फोहोरका डब्बामा आगो लगाएका थिए। उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगा र बोतल प्रहार गरेका थिए। प्रहरीले गहनाका पसलसहित केही पसलमा तोडफोड र लुटपाट भएको जनाएको छ।

लियोँ, बोर्डो, ग्रेनोबल, क्लेरमोन्ट-फेराँ, लिल, रेनेस, नान्ट र तुलुजमा पनि झडप भएको थियो। फ्रान्सका गृहमन्त्री लरेन नुनेजले प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि गर्ने समूहहरू मुख्य जुलुसबाट अलग भएको बताएका छन्। उनले अतिवामपन्थी कार्यकर्ता र आपराधिक समूहहरूले अशान्ति फैलाउन खोजेको आरोप लगाए।

‘लगभग हरेक प्रदर्शनमा हामीले जोखिमपूर्ण समूहहरू बनेको देख्यौं। उनीहरू मुख्य जुलुसबाट अलग भएर हिंसात्मक गतिविधि गर्न खोजे,’ नुनेजले भने।

गत साता भएको हिंसात्मक घटनापछि सरकारले यसपटक सुरक्षा व्यवस्था कडा बनाएको थियो। देशभर ७० हजार प्रहरी र जाँदरम तैनाथ गरिएको थियो। यो अघिल्लो साताको तुलनामा १० हजार बढी हो।

गत अक्टोबर १७ मा भएको प्रदर्शनका क्रममा लुटपाट र तोडफोड व्यापक भएपछि सरकारले अशान्तिको स्तरलाई कम आँकेको स्वीकार गरेको थियो। नुनेजले यसपटकको हिंसा अघिल्लो साताको तुलनामा कम तीव्र रहेको बताए।

‘यसपटक फरक के थियो भने हामीले परिस्थितिको पूर्वानुमान गरेका थियौँ,’ उनले भने।

उनका अनुसार दक्षिणी सहर निस र मोन्टपेलियरमा दक्षिणपन्थी अतिवादी समूहले वामपन्थी समूहसँग भिडन्त गर्न खोजेका थिए। यसले फ्रान्समा जारी अशान्ति थप फैलिन सक्ने चिन्ता बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend