logo
  • आइतबार, कार्तिक ९ २०८३

एनपिएल− रदरफोर्ड सुदूरपश्चिम, हुनेन साह जनकपुरमा आबद्ध


  • Galaxysamachar
  • आइतबार, कार्तिक ९ २०८३

वेष्ट इण्डिजका क्रिकेटर शेरफन रदरफोर्डले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

सुदूरपश्चिमले उनलाई टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ क्षमता थप मजबुत हुने बताएका छन्।

‘रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीको आबद्धताले हाम्रो टोलीलाई थप बलियो बनाउनेछ। उनको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवबाट यस सिजनको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ खड्काले भने।

२८ वर्षीय बायाँहाते ब्याटर रदरफोर्ड टी–२० क्रिकेट प्रारूपमा आक्रामक ब्याटिङका लागि परिचित छन्। उनले वेष्ट इण्डिजबाट ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै क्रमशः ८७३ र एक हजार १२३ रन बनाएका छन् । यस्तै, जनकपुर बोल्ट्सले पाकिस्तानका तीव्र गतिका बलर हुनेन साहलाई अनुबन्ध गरेको छ।

२४ वर्षीय साह पाकिस्तानको घरेलु क्रिकेटसँगै पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा समेत खेलिसकेका बलर हुन्।

उनले सन् २०२६ को पिएसएलमा उत्कृष्ट प्रदर्शन गर्दै १० खेलमा १७ विकेट लिएका थिए । त्यसपछि साहले यही वर्षको सिपिएलमा जमैका किङ्समेनबाट खेल्दै १३ खेलमा १६ विकेट लिए। उनी प्रतियोगितामा संयुक्त रूपमा सर्वाधिक विकेट लिने बलर बनेका थिए ।

विदेशी लिगको रूपमा एनपिएल उनका लागि दोस्रो प्रतियोगिता हुनेछ। एनपिएलको तेस्रो संस्करण सोमबारदेखि काठमाडौंमा आयोजना हुँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend