Galaxysamachar
काठमाडौँ, कात्तिक १८ गते । तिहारलाई लक्ष्य गरेर तीन अर्ब रुपियाँ बराबरको भाइमसला (ड्राई फ्रुट्स) आयात भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा (साउन–असोज) तीन अर्ब सात करोड ५३ लाख २३ हजार रुपियाँ बराबरको एक करोड ७८ लाख ११ हजार ९६६ केजी भाइमसला आयात भएको छ । सो आयातबाट एक अर्ब ३७ करोड ४३ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
तिहारमा बजारमा भाइमसलाको खपत धेरै हुने हुँदा व्यवसायीले विभिन्न मुलुकबाट भाइमसला आयात गर्ने गरेका छन् ।
भाइटीकामा दिदीबिहिनीले दाजुभाइलाई ओखर, काजु, बदाम, किसमिस, नरिवल, छोकडा, सुपारीललगायतका मसला दिने चलन छ । केन्द्रका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले अन्य समयका तुलनामा तिहारका लागि धेरै परिणाममा ‘ड्राई फ्रुट्स’ आयात हुने गरेको जानकारी दिनुुभयो ।
केन्द्रका अनुसार तीन महिनामा ५८ करोड ७५ लाख ५९ हजार रुपियाँ बराबरको एक करोड १९ लाख ८१ हजार ४४६ केजी नरिवल आयात भएको छ । सो अवधिमा ४७ करोड ९३ लाख ३५ हजार रुपियाँ बराबरको पाँच लाख नौ हजार ७८ केजी बदाम आयात भएको छ ।
सो अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपियाँ बराबरको पाँच लाख ५३ हजार ५४४ केजी ओखर आयात भएको छ । ओखर विशेष गरी चीन र अमेरिकाबाट बढी आयात भएको देखिन्छ ।
यस्तै ४६ करोड ५७ लाख २६ हजार रुपियाँ बराबरको चार लाख ६९ हजार ४५१ केजी काजु र ८४ करोड ७७ लाख सात हजार रुपियाँ बराबरको ३२ लाख ४० हजार किलो सुपारी आयात भएको छ ।
यस्तै ३० लाख रुपियाँ बराबरको एक हजार ९५७ किलो पेस्ता, चार लाख ४३ हजार रुपियाँ बराबरको खजुर र छ लाख ५९ हजार रुपियाँ बराबरको अन्य नट्स आयात भएको केन्द्रको तथ्याङ्क छ । भारत, कतार, भियतनाम, चीन, मेलेसिया, सिङ्गापुर, इन्डोनेसिया, कोरिया, थाइल्यान्ड, युएई, अमेरिकालगायत अन्य मुलुकबाट ड्राई फ्रुट्स आयात हुने गर्छन् ।
किनमेल बढ्यो
यसैबिच तिहार नजिकिएसँगै बजारमा भाइटीकाका लागि आवश्यक पर्ने मसलाको किनमेल बढ्न थालेको छ । काठमाडौँको नयाँ सडकको मखनगल्लीमा रहेका मसला पसलमा सामान किनमेल गर्ने ग्राहकको भिड लाग्न थालेको छ । यो वर्ष अधिकांश भाइमसलाको मूल्य बढेको छ । विक्की स्टोरका सञ्चालक विक्की रौनियारले तिहार नजिकिँदै गर्दा भाइमसलाको किनमेल गर्ने बढ्दै गएको जानकारी दिनुभयो । अन्य समयको तुलनामा तिहारमा भाइमसलाको खपत हुने हुँदा व्यापार बढ्ने गरेको उहाँको भनाइ छ ।
व्यवसायीका अनुसार यसपालि भाइमसला प्रतिकेजीमा १५० देखि दुई सय रुपियाँ मूल्य बढेको छ । मूल्य बढेर आएको भन्दै व्यवसायीले पसलपिच्छे फरक फरक मूल्य लिँदा त्यसको असर उपभोक्तालाई परेको छ ।
व्यवसायीका अनुसार बजारमा काजु प्रतिकेजी एक हजार आठ सयदेखि दुई हजार दुई सय रुपियाँ मूल्य रहेको छ । किसमिस प्रतिकेजी सात सयदेखि ७५०, पेस्ता प्रतिकेजी तीन हजार सात सयदेखि तीन हजार ७५० रुपियाँ मूल्य रहेको छ । यस्तै बदाम प्रतिकेजी एक हजार आठ सय, ओखर प्रतिकेजी ५५० देखि छ सय मूल्य रहेको छ ।
ल्वाङ प्रतिकेजी एक हजार नौ सय, सुकमेल प्रतिकेजी सात हजार, मिश्री १८० देखि दुई सय, दालचिनी प्रतिकेजी ७५० र अन्जिर एक हजार आठ सयदेखि दुई हजार रुपियाँ मूल्य रहेको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend