logo
  • बिहिबार, असोज १ २०८३

अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने प्रयासमा बार्सिलोना


  • Galaxysamachar
  • बुधबार, साउन २० २०८३

अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने प्रयासमा बार्सिलोना अझै पनि सक्रिय रहेको छ।

एट्लेटिको म्याड्रिडबाट अल्भारेजलाई भित्र्याउन कठिन हुने स्पष्ट भए पनि खेलाडी स्वयंले क्लब छाड्ने इच्छा दोहोर्याए सम्झौता सम्भव हुन सक्ने विश्वास बार्सिलोनाको छ।

रिपोर्टअनुसार अल्भारेज अगस्ट १० मा एट्लेटिकोको प्रि-सिजन प्रशिक्षणमा सहभागी हुनेछन्। त्यसक्रममा उनले फेरि एकपटक क्लब परिवर्तन गर्ने आफ्नो चाहना व्यक्त गर्न सक्ने अपेक्षा बार्सिलोनाले गरेको छ।

यद्यपि अन्तिम निर्णय भने एट्लेटिकोकै हातमा रहनेछ। क्लबले चाह्यो भने अल्भारेजलाई बिक्री नगर्ने निर्णय लिन सक्छ। त्यसो हुँदा बार्सिलोना, एट्लेटिको र अल्भारेज तीनै पक्ष अन्योलमा पर्नेछन्।

बार्सिलोनाले वैकल्पिक स्ट्राइकर खोज्ने योजना अघि बढाउन ढिलाइ हुनेछ भने एट्लेटिकोले पनि सम्भावित प्रतिस्थापनको खोजी गर्नुपर्नेछ।

बार्सिलोनाले अल्भारेजलाई प्राथमिकतामा राख्नुका दुई मुख्य कारण छन्। पहिलो, उनी प्रशिक्षक र क्लब व्यवस्थापनको पहिलो रोजाइका फरवार्ड हुन्।

दोस्रो, हालको ट्रान्सफर बजारमा अन्य गुणस्तरीय स्ट्राइकर या त उपलब्ध छैनन् वा उनीहरूको मूल्य अत्यधिक महँगो छ।

यदि अल्भारेजको सम्झौता सफल नभए बार्सिलोनाले नयाँ स्ट्राइकर नै नल्याउने सम्भावना पनि रहेको बताइएको छ। तर फरवार्ड फेरान टोरेस क्लबबाट बाहिरिएमा यो योजना परिवर्तन हुन सक्छ।

रोबर्ट लेवान्डोस्की यसअघि नै अमेरिकन क्लब शिकागो फायरमा आबद्ध भइसकेकाले टोरेस पनि बाहिरिए बार्सिलोनाले गत सिजनका आफ्ना दुई प्रमुख स्ट्राइकर गुमाउनेछ। त्यस अवस्थामा भने क्लबले कम्तीमा एक जना नयाँ स्ट्राइकर अनुबन्ध गर्नै पर्ने अवस्था आउनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend