Galaxysamachar
१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ ।
इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँगको नयाँ सैन्य मुठभेडलाई हतियार बनाउन सक्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै गोलानले इरानसँग अर्को चरणको युद्ध वा मुठभेड हुने सम्भावना तीव्र रूपमा बढिरहेको उल्लेख गरेका छन् । अमेरिकामा आउँदो मङ्गलबार हुने मध्यावधि निर्वाचनलगत्तै वासिङ्टन र तेल अभिभले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने भन्दै इजरायली र अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनको यस्तो भनाइ आएको हो ।
नेतान्याहुको असफलता र नैतिक वैधतामाथि प्रश्न
पूर्वउपसेनाप्रमुखसमेत रहेका गोलानले इरानसँग बारम्बार भइरहेका युद्धका शृङ्खलाले नेतान्याहुको पूर्ण असफलता पुष्टि गर्ने बताएका छन् ।
‘हामी इरानविरुद्ध बारम्बार युद्ध लड्नुपर्ने स्थितिमा पुगेका छौँ । यसले नेतान्याहु कति असफल भइसकेका छन् भन्ने देखाउँछ । उहाँसँग अर्को युद्ध सञ्चालन गर्ने न नैतिक वैधता छ, न त आधारभूत क्षमता नै,’ उनले भनेका छन् ।
नेतान्याहु, रक्षामन्त्री इजरायल कात्ज र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–गभिरको हातमा देशको सुरक्षा जिम्मेवारी रहिरहनु इजरायलका लागि जोखिमपूर्ण रहेको बताउँदै गोलानले यसको तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन् ।
निर्वाचनमा कसैको बहुमत छैन

गत मङ्गलबार सम्पन्न १२५औँ नेसेट (संसद्) निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको स्पष्ट बहुमत हासिल गर्न सकेन ।
प्रधानमन्त्री नेतान्याहुको सत्तारूढ लिकुड पार्टी र उनका धार्मिक तथा कट्टरपन्थी सहयोगी गठबन्धनले १२० सदस्यीय संसद्मा ५३ सिट मात्र जितेका छन् ।
गादी इसेनकोट, नाफ्ताली बेनेट र याइर गोलानलगायतका यहुदी विपक्षी दलहरूले ४८ सिट हासिल गरेका छन् । संसद्मा निर्णायक बनेका अरब तथा प्यालेस्टिनी दलहरू (जोइन्ट लिस्ट र राअम) ले १९ सिट जितेका छन् ।
संसद्मा ६५ सिट नेतान्याहुविरोधी कित्तामा रहेकाले गोलानले अरब दलहरूको समेत समर्थनमा वैकल्पिक सरकार गठन गर्न आग्रह गरेका छन् । इजरायलको राष्ट्रिय सुरक्षा र नागरिकको रक्षाका लागि अविलम्ब नयाँ सरकार गठन गर्नुको विकल्प नरहेको उनको तर्क छ ।
नेतान्याहुमाथि कानुनी चुनौती
७६ वर्षीय प्रधानमन्त्री नेतान्याहु गम्भीर कानुनी संकटबाट समेत गुज्रिरहेका छन् । उनीमाथि घुसखोरी, ठगी र पदको दुरुपयोगको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । दोषी ठहरिए उनलाई जेल सजाय हुन सक्छ ।
अक्टोबर २०२३ देखि गाजा क्षेत्रमा जारी युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२४ मा नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।
निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत हासिल नगरेपछि इजरायलमा अरब दलहरूको समर्थनमा वैकल्पिक सरकार गठन, राष्ट्रिय सहमतिको सरकार निर्माण वा पुनः मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावनाबारे बहस तीव्र बनेको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend