Galaxysamachar
काठमाडौँ, कात्तिक १६ गते । भदौ १० को बाढीले क्षतिग्रस्त विद्युत् आयोजना ब्युँताउन नेपाल विद्युत् प्राधिकरणले प्रयास सुरु गरेको छ ।
बाढीका कारण आयोजनामा भएको प्राविधिक तथा आर्थिक क्षतिको आकलन गर्न आयोजनाको सुरुङ तथा विद्युत्गृहभित्र रहेको लेदो तथा अन्य नदीजन्य पदार्थ हटाउन सरसफाइ गर्न थालेको हो । यसका लागि प्राधिकरणका आफ्ना तथा सहायक कम्पनीका आयोजनाको सुरुङ, विद्युत्गृह क्यानल जस्ता संरचनामा थुप्रिएको लेदोसहित ढुङ्गा बालुवा पन्छाउन ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।
बाढीका कारण प्राधिकरणको स्वामित्वका सञ्चालनमा रहेका त्रिशूली जलविद्युत् केन्द्र (२४ मेगावाट), देवीघाट जलविद्युत् केन्द्र (१४.१ मेगावाट), माथिल्लो त्रिशूली थ्री ए (६० मेगावाट) र नुवाकोट सौर्य विद्युत् आयोजना (२५ मेगावाट) र कम्पनी मातहतका चिलिमे जलविद्युत् आयोजना (२२ मेगावाट) र रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट) क्षतिग्रस्त भएका थिए । यी आयोजनाको विद्युत्गृह तथा सुरुङ क्षति ग्रस्त भएका छन् ।
यी आयोजनामा भएको वास्तविक क्षति नै अहिलेसम्म यकिन हुन सकेको छैन । विद्युत्गृह, सुरुङ बाँध जस्ता संरचनामा पुगेको क्षति यकिन गर्न त्यहाँको लेदो हटाएपछि मात्र अध्ययन गर्न सकिने भएकाले लेदो हटाएर सफा गर्न सम्बन्धित आयोजनाले दसैँअघि नै ठेक्का आह्वान गरेका थिए । अहिले प्राप्त प्रस्तावको मूल्याङ्कन भइरहेको छ । तिहारलगत्तै काम सुरु गराउने गरी यो ठेक्का प्रदान गर्ने योजना प्राधिकरणको छ ।
प्राधिकरण उत्पादन विभाग प्रमुख तथा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठका अनुसार रसुवागढी आयोजनामा बाहेक सबै आयोजना अब सरसफाइ गर्न खोजिएको हो । रसुवागढी पुग्न सडक पहुँच नै नभएकाले त्यसको सफाइ गर्ने काम भने अगाडि बढाइएको छैन ।
“क्षतिग्रस्त आयोजना पुनर्निर्माण गर्नु पर्छ, त्यसका लागि क्षतिको वास्तविक यकिन गर्न सरसफाइ गर्न लागिएको हो,” उहाँले भन्नुभयो, “पुरिएका संरचना खोतलेर त्यहाका उपकरण तथा संरचनाको अवस्था यकिन गर्न परामर्शदातामार्फत अध्ययन गराउने योजना प्राधिकरणको छ ।”
श्रेष्ठका अनुसार तिहारलगत्तै काम सुरु गरी बिनाअवरोध काम हुन सके करिब चार महिनामा सुरुङ तथा विद्युत्गृहबाट फोहोर हटाउने काम सम्पन्न हुने छ । “त्यसपछि परमर्शदाताले भौतिक संरचना, मेकानिक तथा इलेक्ट्रिकल उपकरणमा भएको क्षति र पुनर्निर्माणको लागत आकलन गर्ने छन्,” उहाँले भन्नुभयो, “यो मूल्याङ्कन तथा पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन सरकार, प्राधिकरण, दातृ नियकाय तथा अन्य सरोकारवालाले अब पहल थाल्नु पर्छ ।”
अहिले खोतल्ने काम गर्न लागिएको पनि आयोजनाको क्षतिको अध्ययन तथा पुनर्निर्माणका लागि भने आर्थिक स्रोत सुनिश्चित भइनसकेको श्रेष्ठले बताउनुभयो । सरकारले क्षतिग्रस्त सडक मर्मत तथा पुल पुनस्र्थापना गर्ने कार्य गरिरहेको र सोही पूर्वाधार प्रयोग गरी एस्काभेटर तथा सफाइका अन्य उपकरण प्रभावित विद्युत्गृहमा पुर्याउने अपेक्षा प्राधिकरणको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend