logo
  • बुधबार, कार्तिक १९ २०८३

मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय


  • Galaxysamachar
  • बुधबार, कार्तिक १९ २०८३

१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद स्रोतका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ । र, विशेष सुरक्षा सल्लाहकार पदमा कार्कीलाई खटाउने निर्णय भएको छ ।

यसअघि सरकारले अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।

खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो ।

रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend