Galaxysamachar
मध्यविन्दु (नवलपुर): “युवा उद्यमशीलताः सोचदेखि सफलतासम्म” नामक विशेष अभिमुखीकरण कार्यक्रमको पहिलो दिन कात्तिक १७ गते नवलपुरको चोरमारा क्लस्टरमा भव्यताका साथ सम्पन्न भएको छ।
स्थानीय युवाहरूमा उद्यमशीलताको विकास गर्ने र उनीहरूका नवीन सोचलाई व्यावसायिक रूप दिने उद्देश्यले आयोजित यस कार्यक्रममा युवा अगुवा तथा उत्प्रेरक वक्ता (Motivational Speaker) राज कार्की मुख्य वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो।
विगत केही वर्षदेखि देशका विभिन्न स्थानमा युवाहरूलाई स्वरोजगार, सीप विकास र उद्यमशीलताप्रति प्रेरित गर्ने अभियान निरन्तर चलाउँदै आउनुभएका कार्कीले चोरमाराका युवाहरूमा देखिएको ऊर्जाले आफूलाई अझ उत्साहित बनाएको बताए। कार्यक्रममा आफ्नो प्रेरणादायी मन्तव्य राख्दै उहाँले भन्नुभयो, “सफलता कसैको भाग्यमा लेखिएको हुँदैन, यो त दृढ संकल्प, सहि सोच र निरन्तर मेहनतले आफ्नै हातले लेख्ने कुरा हो।विगतदेखि नै म यही विश्वासका साथ युवाहरूलाई आफ्नै माटोमा केही गर्न प्रेरित गर्दै आएको छु।”
चोरमारा क्लस्टरका ऊर्जावान युवाहरूको उत्साहजनक सहभागिता रहेको यस कार्यक्रममा मुख्य उत्प्रेरकको रूपमा आफ्ना विचार राख्न पाउँदा हर्ष व्यक्त गर्दै कार्कीले यस महाअभियानलाई सफल बनाउन अहोरात्र खटिनुहुने मध्यविन्दु नगरपालिकाका नगर प्रमुख श्री भिमलाल अधिकारीज्यू तथा सम्पूर्ण मध्यविन्दु नगरपालिका परिवारप्रति विशेष कृतज्ञता तथा हार्दिक आभार प्रकट गर्नुभएको छ।
नगरपालिकाको यो दूरदर्शी नेतृत्व र युवाहरूको अथाह जोशले मध्यविन्दु क्षेत्रमा उद्यमशीलताको नयाँ लहर ल्याउने र स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई साकार पार्न बलियो आधार तयार गर्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो। सुटमालाका कार्यकारी निर्देशक एवम् सीईओ तथा परम्परागत सीपमा आधारित युवा सञ्जालका अध्यक्ष समेत रहनुभएका राज कार्कीको यो राष्ट्रव्यापी अभियानले आगामी दिनमा पनि हजारौं युवाहरूलाई मार्गदर्शन दिनेछ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend