logo
  • बिहिबार, कार्तिक २० २०८३

डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहूले एकअर्काको राजनीतिक जितमा आफ्नो भविष्य देखे


  • Galaxysamachar
  • बिहिबार, कार्तिक २० २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एकअर्काको राजनीतिक जितमा आफ्नो भविष्य देखेका थिए।

दुवैले एकअर्काको देशमा भएको निर्वाचनमा खुलेर समर्थन जनाए। तर परिणाम उनीहरूले चाहेजस्तो आएन। इसराइलमा नेतन्याहूको गठबन्धनले सरकार बनाउन बहुमत पाएन भने अमेरिकामा ट्रम्पको रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदन गुमायो।

वर्षौंदेखि एकअर्काका निकट सहयोगीका रूपमा प्रस्तुत हुँदै आएका यी दुई नेताका लागि यो दोहोरो राजनीतिक धक्का हो। तर यसको असर उनीहरूको व्यक्तिगत सम्बन्धमा मात्र सीमित रहने छैन। अमेरिकाले इसराइललाई दिँदै आएको सैन्य सहयोग, मध्यपूर्वमा उसको भूमिका र इरानसँग जारी युद्धको भविष्यसमेत यसबाट प्रभावित हुन सक्छ।

अक्टोबर २७ मा भएको इजरायली संसदीय निर्वाचनमा नेतन्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धनले ५३ सिट मात्रै जितेको थियो। सरकार बनाउन ६१ सिट आवश्यक पर्छ। यता मंगलबार भएको अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गर्‍यो।

निर्वाचनअघि ट्रम्पले इसराइली मतदातालाई नेतन्याहूको पक्षमा उभिन आग्रह गरेका थिए। नेतन्याहूले पनि अमेरिकी मतदातालाई ट्रम्पको समर्थन गर्न अपिल गरेका थिए। दुवैले आफ्नो राजनीतिक सम्बन्धलाई एकअर्काको जितसँग जोड्न खोजेका थिए।

तर अहिले उनीहरू दुवै आफ्नै देशमा राजनीतिक चुनौतीको सामना गरिरहेका छन्। अमेरिकी निर्वाचन परिणामले ट्रम्पको घरेलु राजनीतिक शक्ति कमजोर बनाएको छ भने इसराइलमा नेतन्याहूलाई फेरि सरकार गठन गर्न कठिन भएको छ।

कतारी मिडिया अल जजिराका अनुसार अमेरिकी मतदाताको असन्तुष्टिको एउटा प्रमुख कारण इरान युद्ध र इसराइललाई दिइँदै आएको समर्थन पनि हो। गत फेब्रुअरीको अन्त्यमा ट्रम्प र नेतन्याहूले मिलेर इरानमाथि सैन्य अभियान सुरु गरेका थिए। त्यसपछि इरानले प्रत्याक्रमण गर्‍यो र युद्ध आठ महिनादेखि जारी छ।

युद्धका कारण विश्वभर ऊर्जा आपूर्ति प्रभावित भएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। यसको आर्थिक भार अमेरिकी उपभोक्ताले पनि बेहोर्नुपरेको छ। ट्रम्पले समेत इरान युद्धका कारण रिपब्लिकन उम्मेदवारलाई चुनावमा नोक्सान पुगेको स्वीकार गरेका छन्।

यसरी नेतन्याहूसँगको निकट सम्बन्ध र इरान युद्ध ट्रम्पका लागि विदेश नीतिको विषय मात्रै रहेन। त्यो अमेरिकी मतदाताले आफ्नो दैनिक जीवनसँग जोडेर हेर्ने राजनीतिक मुद्दा बन्यो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend