logo
  • मंगलबार, मंसिर ९ २०८३

मासुमा लगाइएको छाप खानयोग्य


  • Galaxysamachar
  • शुक्रबार, मंसिर ५ २०८३

काठमाडौँ, मङ्सिर ४ गते । मासु परीक्षणका लागि लगाइएको छापमा प्रयोग गरेको मसी खानयोग्य रहेको सरकारले जनाएको छ । मासुमा लगाएको छापको मसी खानयोग्य भए नभएको सन्दर्भमा आमचासो बढिरहेको सन्दर्भमा पशु सेवा विभागले यसलाई खानयोग्य रहेको जनाएको हो ।

विभागले मङ्सिर १ गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा छाप लगाएको मात्रै मासु बिक्री गर्न पाउने गरी पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनमा ल्याएको छ ।

विभागका महानिर्देशक डा. उमेश दाहालले मासुमा छाप लगाउन प्रयोग भएको मसी सुरक्षित भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “छापमा फुडगे्रडको मसी प्रयोग भएको हुन्छ, कुनै पनि शङ्का गर्नु पर्दैन” उहाँले भन्नुभयो, “अखाद्य मसी प्रयोग गरेमा सम्बन्धित मासु निरीक्षक जिम्मेवार हुन्छन् ।” उहाँका अनुसार मासु परीक्षणका लागि २४० जना मासु निरीक्षक अधिकृतले यससम्बन्धी तालिम लिएका छन् ।

राष्ट्रिय पशुजन्य रोग नियन्त्रण तथा जनस्वास्थ्य संरक्षण कार्यालयका प्रवक्ता डा. मनोजकुमार शाहीले पनि मासुमा छाप लगाउँदा प्रयोग गरिएको मसी फुडग्रेड (खानयोग्य) भएकाले ढुक्क भएर खान सक्ने बताउनुभयो । उहाँले मासुमा छाप लगाउने प्रचनल नेपालका लागि नयाँ अभ्यास भए पनि संसारका थुप्रै विकसित देशमा धेरै पहिलादेखि यो प्रचलन अभ्यास हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार मासुमा छाप लगाउन प्रयोग गरिने मसी खान मिल्ने मसी हुन्छ र नेपालमा पनि त्यही प्रयोग गरिएको हो ।

खाद्य वैज्ञानिक डा. अतुल उपाध्यायले खाद्यान्न प्रयोग गरिने रङ वा छाप खाने मिल्ने रङ मात्रै प्रयोग गर्नुपर्ने बताउनुभयो । खाद्य मसी तुलात्मक रूपमा धेरै महँगो हुने भएकाले नियम पालनाका नाममा मासुमा अखाद्य मसी प्रयोग गरेमा स्वस्थ मासुलाई झनै अस्वस्थ बनाउने जोखिम पनि त्यत्तिकै रहेको उहाँको भनाइ छ । मासु वधशालाले मासुमा छाप लगाउन प्रयोग गर्ने मसी खाद्य भए वा नभएको विषयमा पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले छड्के रूपमा वधशालाको अनुगमन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

पर्याप्त छैनन् वधशाला

उपत्यकाका तीन जिल्लाका २१ पालिकामा अनिवार्य छाप लगाएको मासु बिक्री गर्ने भनिए पनि सबै ठाउँमा वधशाला व्यवस्थित भइसकेका छैनन् । पशु सेवा विभागका अनुसार हाल उपत्यकामा आठ वटा वधशाला सञ्चालनमा छन् । सात वटा वधशाला मुख्य गरी कुखुराको मासुका लागि रहेका छन् । एउटा खसीबोका रहेको छ भने राँगो भैँसीको वधशाखा तयारीकै क्रममा रहेकाले यसै सातादेखि सञ्चालनमा आउने विभागले जनाएको छ । विभागले उपत्यकामा वधशाला सञ्चालनका लागि ७८ वटा निवेदन आएका छन् । त्यसको आवश्यकता मापदण्ड हेरेर सञ्चालन गरिने छ ।

ऐन अनुसार पशुपन्छी वध गर्नुअघि पशु चिकित्सक वा मासु निरीक्षकबाट जीवित अवस्थामै स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । दुई चरणको परीक्षणपछि मात्र मासु बजारमा बिक्रीका लागि पठाइने छ । अनुगमनका लागि उपत्यकाका २१ वटै स्थानीय तहमा पशु चिकित्सकसहितको ‘टास्कफोर्स’ परिचालन गरेको विभागले जनाएको छ ।

सरकारले माघ १ गतेदेखि देशका अन्य नगरपालिका र २०८४ साउन १ गतेदेखि सबै गाउँपालिकामा ऐन लागु गर्ने गरी तयारी गरेको छ ।

कार्यान्वयनमा व्यावहारिक चुनौती 

मासुको स्वच्छता कायम गर्न सरकारले ऐन कार्यान्वयनमा ल्याए पनि यसका व्यावहारिक चुनौती रहेको सरोकारवालाले जनाएका छन् । कतिपय स्थानीय तहले बजेट, जग्गा र पूर्वाधारको अभाव रहेको गुनासो गरेका छन् । आधुनिक वधशाला र कोल्ड चेनको अभावमा व्यवसायीले मापदण्ड पूरा गर्न कठिनाइ भइरहेको बताउँदै आएका छन् ।

अस्वस्थकर मासु बिक्री भएमा उपभोक्ताले उजुरी गर्न सक्ने व्यवस्था ऐनमा छ । सङ्घ, प्रदेश र स्थानीय सरकारले प्रशासनिक तथा प्राविधिक संयन्त्रमार्फत अनुगमन र नियमनलाई प्रभावकारी बनाउनु पर्छ । विभागका महानिर्देशक दाहालका अनुसार हरेक सुरक्षित मासु उपभोग गर्ने अधिकार सुनिश्चित गर्ने जिम्मेवारी पालिकाको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend