logo
  • मंगलबार, मंसिर ९ २०८३

स्वास्थ्य व्यवसायी परिषद्मा सुधारको माग गर्दै डेन्टल हाइजेनिस्टको रिले अनशन, आज वार्ता हुँदै


  • Galaxysamachar
  • मंगलबार, मंसिर ९ २०८३

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनरत डेन्टल साइन्स हाइजेनिक एसोसिएसन नेपालका मागहरू सम्बोधन गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

एसोसिएसनले गत कात्तिक २७ गते पेस गरेको पत्रअनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतका सहमति कार्यान्वयनलगायतका माग राखी मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु गरेपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत वार्ता समिति बनाएको हो।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य रहेका छन्। मन्त्रालयले समस्या समाधानका लागि आज मङ्गलवार  बिहान १० बजे हुने वार्तामा सहभागी हुन एसोसिएसनलाई औपचारिक अनुरोधसमेत गरेको छ।

डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले विभिन्न १० बुँदे माग अघि सार्दै सोमबारदेखि रिले अनशन तथा धर्ना सुरु  गरेको छ। परिषद् र मन्त्रालयसँग भएका पटक–पटकका छलफलहरू निष्कर्षविहीन बनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिए । एसोसिएसनले मुख्यतया नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता, प्रतिनिधित्व र निर्णय प्रक्रियामा हुने स्वार्थको द्वन्द्व अन्त्य गर्न, परीक्षा प्रणालीलाई पारदर्शी बनाउन तथा प्रत्यक्ष स्वार्थ बाझिने व्यक्तिलाई परिषद्को निर्णय प्रक्रियामा सहभागी नगराउन माग गरेको छ।

​यसका साथै, नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १०(४) को व्यवस्थालाई अक्षरशः पालना गर्न, कार्यकाल समाप्त भएका परिषद् सदस्यहरूलाई निरन्तरता नदिन र डेन्टल समुदायको मात्र छुट्टै निर्वाचन व्यवस्था हुने गरी परिषद्को नियमावली संशोधन गर्न एसोसिएसनले जोडदार माग उठाएको छ। विगतमा सरकार र पेसागत संघसंस्थाबीच भएका सहमतिहरू तत्काल कार्यान्वयन गरी डेन्टल जनशक्तिको पेसागत हकहित, सुरक्षा र कार्यक्षेत्रको संरक्षण सुनिश्चित गर्नुपर्ने एसोसिएसनको अडान छ। आफ्ना जायज मागहरूको सुनुवाइ नभएसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिने चेतावनीसमेत एसोसिएसनले दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend