logo
  • बिहिबार, असोज १ २०८३

फिल्म ‘डीएनए’ को ‘अनाउन्समेन्ट टिजर’ सार्वजनिक (भिडिओ)


  • Galaxysamachar
  • बुधबार, असोज ९ २०८१

हालै घोषणा गरिएको पौराणिक एक्सन थ्रिलर शैलीको फिल्म ‘डीएनए’ को टिजर सार्वजनिक गरिएको छ।

युट्युबमा सार्वजनिक टिजरमा नव–अभिनेता सुधन पोखरेललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। छायांकन अघि नै निर्माण पक्षले फिल्मको ‘अनाउन्समेन्ट टिजर’ रिलिज गरेको हो।

टिजरमा बाकस लिएका एक ब्यक्ति एउटा समूहको आक्रमणमा परेका छन्। उनलाई बचाउन आएका सुधन फाइट गर्दै गरेको देखिन्छन्। सो रहस्यमय बाकसबाट निस्किरहेको अनौठो प्रकाशलाई देखेर उनी अचम्मित देखिन्छन्।

निर्देशक चानस पुन मगरका अनुसार उक्त बाकसबाट निस्किएको प्रकाश कुनै पौराणिक वस्तुको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ। पौराणिक कथाको आधुनिक अनुकूलनमा आधारित यस थ्रिलर फिल्मको टिजरमा सुधनसँगै दिपक केसी र चिरायु पौडेललगायतका कलाकारहरूलाई पनि देख्न सकिन्छ।

फिल्म ‘डीएनए’ लाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन्। पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक मणिरत्न त्रिपाठीले बताए।

फिल्मको छायांकन भने आउँदो फागुनमा सुरू गर्ने जनाइएको छ।

फिल्म निर्माण फोनिक फ्लिकले गर्नेछ भने बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्य रहनेछ।

फिल्ममा राजु तामाङको एक्सन निर्देशन रहनेछ। सुशान्त केसी र प्रशान्त योगीले फिल्मलाई छायांकन गर्नेछन्। फिल्मका निर्माता कुमार भास्कर हुन् भने एसोसियट निर्माता आशिष पुडासैनी र कार्यकारी निर्माता विकास भण्डारी रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend