logo
  • सोमबार, मंसिर ८ २०८३

काठमाडौँलाई २४ सै घण्टा खुला गर्न सुरक्षा र व्यवस्थापनको नयाँ खाका कोरिँदै


  • Galaxysamachar
  • बिहिबार, मंसिर ४ २०८३

काठमाडौँ । संघीय राजधानी काठमाडौँलाई २४ सै घण्टा खुला राख्न जिल्ला प्रशासन कार्यालयले महत्त्वाकांक्षी योजना अघि सारेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लालाई रात्रिकालीन समयमा पनि चलायमान र जीवन्त बनाउने तयारी थालेको हो।

व्यस्त सहरका रूपमा परिचित काठमाडौँलाई रातको समयमा पनि सक्रिय बनाउन ‘अवधारणा पत्र’ तयार गर्ने काम भइरहेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए । उनले भने, ‘काठमाडौँलाई २४ घण्टा खुला राख्नु चानचुने विषय होइन, हामी त्यो योजनामा काम गरिरहेका छौँ ।

काठमाडौँमा सञ्चालित रात्रिकालीन व्यवसाय, उद्योग, कलकारखाना, पर्यटकीय तथा सांस्कृतिक क्षेत्रलाई जागा राख्न सबैभन्दा महत्त्वपूर्ण पक्ष सुरक्षा व्यवस्था हो। त्यसका लागि उपयुक्त सुरक्षा रणनीति अनिवार्य मानिएको छ। सुरक्षा रणनीतिसहितको विषयलाई समेटेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘काठमाडौँ सुरक्षा रणनीति–२०८३’ निर्माण गरिरहेको छ।

रातको समयमा सुरक्षा व्यवस्था कडा बनाउन प्रहरी परिचालन बढाउने, सडक बत्तीको संख्या थप्ने र सीसीटीभी क्यामेरा जडान गर्ने प्रशासनको योजना छ। साथै, जिल्लामा रहेका ‘क्राइम ब्ल्याक स्पट’ पहिचान गरिने प्रजिअ पौडेलले बताए। अपराध धेरै हुने सम्भावित ठाउँ पहिचान गरेर त्यस्ता स्थानमा सुरक्षा निगरानी बढाउने तयारी भइरहेको छ।

काठमाडौँभित्र व्यापारिक, औद्योगिक, धार्मिक, ऐतिहासिक तथा आवासीय क्षेत्रहरू छन्। सबै क्षेत्रलाई एउटै नियमले बाँध्न नसकिने भएकाले चरणबद्ध रूपमा खुलाउने विषयमा गृहकार्य भइरहेको छ। प्रजिअ पौडेलले भने, ‘सहरलाई कसरी चरणबद्ध रूपमा ओपन अप गर्ने भन्नेबारे अध्ययन भइरहेको छ ।’

जिल्ला प्रशासनका अधिकारीहरूले हाल आवासीय तथा संवेदनशील क्षेत्रहरूको पहिचान र वर्गीकरण गरिरहेका छन्। क्षेत्र छुट्याएर कुन ठाउँमा कस्तो गतिविधि सञ्चालन गर्न दिने भन्नेबारे स्पष्ट कार्यविधि बनाउने गरी काम भइरहेको छ।

यस कार्यका लागि काठमाडौँ महानगरपालिका, अन्य नगरपालिकाहरू र यातायात व्यवसायीलाई पनि सँगसँगै लैजानुपर्ने प्रजिअ पौडेलको भनाइ छ। काठमाडौँलाई २४ घण्टा चलायमान बनाउँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह पनि चौबीसै घण्टा हुनुपर्ने अवधारणा पत्रमा उल्लेख छ। प्रजिअ पौडेलले भने, ‘सहर जागा हुँदा प्रशासनले सेवा पनि दिनुपर्छ, राति घटना भएमा उजुरीचाहिँ भोलिपल्ट बिहान ९ बजे लिएर आउनुस् भन्न मिल्दैन।’

यो योजना कार्यान्वयनका लागि जिल्ला प्रशासनले गृह मन्त्रालयसँग समन्वय गरिरहेको छ। काठमाडौँ केवल एउटा जिल्ला मात्र नभई संघीय राजधानी भएकाले यहाँ देशका अन्य ७६ वटै जिल्लाबाट मानिसहरूको आवतजावत भइरहन्छ। बाहिरबाट आउने नागरिकहरूको सहजतालाई समेत मध्यनजर गर्दै प्रशासनले यो योजना अघि बढाएको हो।

यसअघि पूर्वगृहमन्त्री रवि लामिछानेको कार्यकालमा काठमाडौँका प्रमुख पर्यटकीय तथा व्यापारिक केन्द्रहरू ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने निर्णय गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलिप घिमिरेका अनुसार अहिले ठमेल र दरबारमार्गका केही क्षेत्रका पब तथा डिस्कोहरू २४ सै घण्टा सञ्चालनमा छन्।

यद्यपि, रातभर जागा रहने ठमेल क्षेत्रबाट सबैभन्दा धेरै गुनासो आउने गरेको छ। त्यसलाई सम्बोधन गर्न सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपीको नेतृत्वमा विशेष अनुगमन टोली गठन गरिएको प्रजिअ पौडेलले बताए। उनले भने, ‘अनुगमन समिति बनेको छ, ठमेल क्षेत्रमा अनुगमन गरेर समस्याहरूलाई हल गर्नेछौँ।’

काठमाडौँलाई २४ सै घण्टा खुला गर्ने योजनाले एकातिर आर्थिक गतिविधि विस्तार हुने र सहरलाई विश्वस्तरीय बनाउने अपेक्षा गरिएको छ भने अर्कातिर सुरक्षा चुनौतीको व्यवस्थापन गर्नु प्रशासनको मुख्य परीक्षा हुने जानकारहरू बताउँछन्।

  • घरधनीलाई जिम्मेवार बनाइने

मुख्य व्यापारिक केन्द्र तथा मूल सडकमा रहेका घरहरू भाडामा लगाएर घरधनीहरूले लाखौँ रुपैयाँ भाडा उठाउने गरेका छन्। सडकसँग जोडिएका घरधनीलाई कम्तीमा चारवटा बत्ती राख्न लगाउने गरी प्रशासनले योजना बनाएको छ।

उनीहरूले दुईवटा बत्ती आफ्नो घर उज्यालो पार्न र बाँकी दुईवटा बत्ती सडकतिर फर्काएर बाल्नुपर्नेछ। यस कार्यका लागि घरधनीहरूलाई नै जिम्मेवार बनाइँदै छ। सडक र घर उज्यालो भएमा चोरी तथा डकैतीजस्ता अपराध नियन्त्रण गर्न सकिने आकलन प्रशासनको छ।

अपराध नियन्त्रण गर्न तथा अनुसन्धानमा सहजता ल्याउन सीसीटीभीको संख्या थप गर्ने कार्यमा स्थानीय तहलाई जिम्मेवार बनाउने जिल्ला प्रशासन कार्यालयको तयारी छ। साथै, सहर चौबीसै घण्टा खुला गर्दा कहाँ-कहाँ भीडभाड हुन सक्छ भन्ने विषयमा समेत प्रशासनले अध्ययन गरिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend