Galaxysamachar
पोखरा । नेपाली कांग्रेसको नियमित महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा शनिबार शेरबहादुर देउवाले उद्घाटन गरेपछि सुरु भएको बन्दसत्रले ३ दिनसम्म पनि पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन ।
सभापति र सदस्यहरू सर्वसम्मत चयन भएको घोषणा गरिए पनि अन्य पदाधिकारीमा विधानले तोकेभन्दा धेरै सङ्ख्यामा उम्मेदवारी परेको र नेतृत्वले समयमै निर्णय लिन नसक्दा अन्योल बढेको हो ।
सभापतिमा मेखलाल श्रेष्ठ सर्वसम्मत चयन भैसकेका छन् । पार्टी विधानको व्यवस्थाअनुसार मनोनीत बाहेक गण्डकीमा निर्वाचन प्रक्रियाबाट उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जना तथा कोषाध्यक्ष १ जना निर्वाचित हुने प्रावधान छ ।
सभापतिमा श्रेष्ठको एकल उम्मेदवारी परेपछि उनी नै सर्वसम्मत भएका हुन् । उपसभापति पदका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । पोखराका गंगाधर पराजुली, आशिक गुरुङ, उमाकुमारी ठकुरी, राजुराज अधिकारी सहित बाग्लुङका नरेश कँडेल र ज्ञानेन्द्र गौतम, लमजुङका विष्णुप्रसाद धिताल र राजकुमार पाण्डे, गोरखाका सञ्जय सिलवाल तथा तनहुँका राजेन्द्र प्रकाश घिमिरे र चिजा श्रेष्ठ छन् ।
२ महामन्त्रीमा पनि ३ जनाको उम्मेदवारी परेको छ । कास्कीका पोषनाथ शर्मा, लमजुङका थिरबाबु खाती परियार र पर्वतका मोहन गुरुङ उम्मेदवार छन् । ३ सहमहामन्त्रीका लागि १२ जनाले उम्मेदवारी दिए । म्याग्दीका लोकबहादुर मल्ल, गोरखाका दिवसबाबु भट्ट, स्याङ्जाका महेन्द्र श्रेष्ठ, तनहुँका भक्तबहादुर श्रेष्ठ र इन्द्रप्रसाद पौडेल, बाग्लुङका उमेश गौतम र नवीन गौतम, नवलपुरका राजु पाण्डे, नारायणप्रसाद पन्त र सतिश न्यौपाने, कास्कीका बाबुराम बस्ताकोटी तथा लमजुङका प्रकाश न्यौपाने उम्मेदवार छन् ।
कोषाध्यक्षमा भने उम्मेदवारी छैन । त्यस्तै, कार्यसमिति सदस्य पदमा ६४ जनाको उम्मेदवारी परेको थियो । शनिबार साँझ उद्घाटन समारोहको अन्त्यमा निर्वाचन समितिका संयोजक वीरेन्द्र केसीले निर्वाचन कार्यतालिका सार्वजनिक नगरी र अन्यलाई मनोनयन फारम समेत नदिई सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्रीमा पोषनाथ शर्मा निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो ।
विधि र प्रक्रियाविपरीत घोषणा गरिएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले उक्त घोषणा फिर्ता लिएर निर्वाचन प्रक्रिया अघि बढाउन भनेपछि सोही अनुसार प्रक्रिया थालिएको हो । आइतबार दिनभरको सहमतिको प्रयासपछि पनि सभापतिबाहेकका अन्य पदाधिकारीमा सहमति जुट्न नसकेपछि उनको नाम मात्रै सार्वजनिक घोषणा गरियो । सदस्यहरूमा पनि सबैको सर्वसम्मत नाम घोषणा गरिएको छ ।
यसअघि कास्कीकै गंगाधर पराजुली महामन्त्री बन्ने चर्चा थियो । पछि केन्द्रीय नेताहरूकै आग्रहमा उनी उपसभापतिमा मनोनयन दिएर बसेका छन् । जिल्लामा सभापति चयन भैसकेपनि अन्य पदाधिकारी र सदस्यहरुको टुङ्गो नलाग्दा सबै व्यक्तिहरू प्रदेशमा आकाङ्क्षी बनेको बताइएको छ । आज पनि सहमतिको प्रयास भइरहेको निर्वाचन समितिले जनाएको छ ।
© 2026 All right reserved to Galaxysamachar.com | Site By : SobizTrend