logo
  • सोमबार, मंसिर ८ २०८३

रसुवा भोटेकोशीमा जलवायु वित्तको सदुपयोगको माग


  • Galaxysamachar
  • बिहिबार, मंसिर ४ २०८३

अन्तल्या (टर्किए) मङ्सिर ३ गते । रसुवा भोटेकोशीका पीडित समुदायका नाउँमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त जलवायु वित्तको उचित सदुपयोग हुनुपर्ने माग अन्तराष्ट्रिय समुदायले राखेको छ ।

टर्कीएको अन्तल्यामा जारी संयुक्त राष्ट्र संघीय जलवायु विश्व सम्मेलन कोप ३१ मा आयोजित भोटेकोशीमा क्षति र जलवायु न्यायका विषयमा भएको कार्यक्रममा अन्तराष्ट्रिय समुदायबाट प्रतिनिधित्व गर्ने वक्ताहरुले यस्तो माग राखेका छन् ।

पीडित समुदायको तत्काल पुर्नबास, पुनरुउत्थान र पुननिर्माणका लागि प्राप्त जलवायु वित्तको उचित सदुपयोग गर्न स्थानीय समुदाय, स्थानीय सरकार र स्थानीय नागरिक समाजलाई सक्रिय रुपमा परिचालन गर्नुपर्ने र उनीहरुको सहभागितामा योजना निर्माण गर्नुुपर्ने धारणा अन्तराष्ट्रिय समुदायले राखेको छ ।

गैर सरकारी संस्था महासङ्घको नेतृत्वमा बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाद्वारा यहाँ आयोजना गरिएको कार्यक्रममा स्थानीय आवश्यकता र स्थानीय समुदायको सहभागिता विनाको जलवायु वित्त परिचालनले प्रतिफल दिन नसक्ने बताइएको छ । जलवायु वित्तमा पारदर्शिता अपनाउन पनि आग्रह गरिएको छ ।

कार्यक्रममा केन्याका जलवायु न्याय अभियान्ता सलिना सानोउले नेपालले जलवायु न्याय पाउनुपर्ने हक सुरक्षित भएको बताउँदै उहाँले नेपाल प्रति अन्याय नगर्न पनि विकसित मुलुकसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालले दिनुपर्ने पर्याप्त जलवायु वित्त तत्काल व्यवस्थाप गरिनुपर्छ र सो जलवायु वित्त सम्बन्धित समुदायको हातमा पुग्ने वातावरण नेपाल सरकारले मिलाउनुपर्छ । जो पीडित छ, उसैको घरआँगनमा सहयोग पुग्नुपर्छ ।”

कार्यक्रममा बोल्दै बङ्गलादेशका जलवायु न्याय अभियन्ता अब्दुल आउलले हिमाली मुलुक नेपालमा भएका प्राकृतिक विपत्तीको असर तल्लो तटीय मुलुक बङ्गलादेशमा पनि पर्ने गरेकोले नेपालको जलवायु अनुकुलन र उत्थानशिल कार्यक्रममा बङ्गलादेशको पनि साथ रहेको बताउनुभयो ।

उहाँले गत भदौमा भएको रसुवा भोटेकोशीको प्राकृतिक विपत्तीमा नेपाललाई विकसित मुलुकहरुबाट प्राप्त हुनुपर्ने सहयोग उचित मात्रामा हुन नसकेको बताउँदै कार्वन उत्सर्जनमा न्यून भूमिका रहेको नेपाल जस्तो पर्वतीय मुलुकमाथि थप अन्याय नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु वित्त पीडितको लागि जानुपर्छ । पारदर्शीता अपनाउनुपर्छ । पीडितको माग अनुसार योजना निर्माण गरेर स्थानीय सरकार, स्थानीय समुदाय र स्थानीय नागरिक समाजको प्रत्यक्ष सहभागिता हुनुपर्छ ।”

कार्यक्रममा ल्याटिन अमेरिकाका जलवायु अभियन्ता कारोला मेजियाले जलवायु परिवर्तनका कारण नेपालमा बाढी पहिरोको प्राकृतिक विपत्ती सिर्जना भएको कुराबाट विश्व समुदायले पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको जोखिममा रहेको नेपाल जस्तो हिमाली मुलुकलाई पर्याप्त जलवायु वित्तको सहयोग हुनुपर्ने बताउनुभयो ।

उहाँले पीडित समुदायको योजना, विकास र सहयोगका लागि जलवायु वित्त खर्च गरिनुपर्ने र त्यसका लागि छुट्टै संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्राकृतिक विपत्ती पछि भएका पुर्नबास, पुननिमाण लगायतका कामहरु भएका विश्वका अरु मुलुकको सफल अभ्यासहरु नेपालमा पनि लागु गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा गैर सरकारी संस्था महासङ्घका महासचिव देवी खड्काले रसुवा भोटेकोशीमा पीडित समुदायका पुर्नबास, पुननिर्माण र पुनरुत्थानका लागि जलवायु वित्तको पहुज सहज हुनुपर्ने कुरा बताउनुभयो । राष्ट्रिय वातावरण तथा समविकास समाज (निड्स) का राष्ट्रिय अध्यक्ष भवराज रेग्मीले विश्व तापमानमा भइरहेको वृद्धि तथा जलवायु परिवर्तनले हिमाल पग्लिँदै जाँदा आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि आधुनिक प्रविधि र विज्ञानको प्रयोगका लागि विकसित मुलुकहरुले नेपाललाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

जलवायु विज्ञ डा. बिमलराज रेग्मीले नेपालले स्थानीय तहमा जलवायु अनुकुलन योजना निर्माण गर्ने र सोही अनुसार काम गर्ने गरेकाले जलवायु वित्तको सदुपयोगका बारेमा शंका उपशंका नगर्न विश्व समुदायलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यले जलवायु वित्तको ८० प्रतिशत रकम स्थानीय समुदायमा प्रत्यक्ष रुपमा जाने नीतिगत व्यवस्था रहेको बताउँदै भोटेकोशी पीडितका लागि नेपाल सरकार गम्भीर रहेको जानकारी दिनुभयो ।

टर्कीएमा जारी कोप सम्मेलनमा रसुवा भोटेकोशी महाविपत्तीमा नेपालले  भोग्नुपरेको पीडामा सहयोग जुटाउन र दवाव दिन बिभिन्न अन्तर्राष्ट्रिय दवाव समुह, अभियन्ता तथा सङ्घ, संस्थाहरुले -याली प्रदर्शन, सभा सम्मेलन, अन्तक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरिरहेका छन् । सम्मेलनमा भाग लिइरहेका ८० भन्दा बढी मुलुकका अभियन्ताहरुले नेपालले विना शर्त पर्याप्त जलवायु वित्त पाउनुपर्ने कुरामा एक्यवद्धता जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to Galaxysamachar.com  | Site By : SobizTrend